- असार ०६, २०८०
काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले दोष जति अरुलाई देखाउने राजनीति पुरानो भइसकेको बताएका छन् ।
संसदीय दलका नेता रामबहादुर थापा बादलको विवादित अभिव्यक्ति केन्द्रित टिप्पणी गर्दैृ नेता पाण्डेले पछिल्लो राजनीतिक वातावरण सिर्जना हुनुमा एमाले पनि दोषी रहेको र एमाले नेतृत्वको तत्कालीन सरकारको अकर्मण्यता जिम्मेवार रहेको टिप्पणी गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हिजो संसदमा “षड्यन्त्र”का लामा कथाहरू सुनियो । सेनाले जोगाएन, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो– सबै दोष अरूलाई ! हामी पनि दोषी छौं– यो वातावरण सिर्जना गर्न, हाम्रै सरकारको अकर्मण्यता जिम्मेवार होइन र ?’
उनले ‘घेराबन्दी’मा पर्यौं भन्ने राष्ट्रवादी राजनीति निकै पुरानो भएको टिप्पणी गर्दै लेखेका छन्, ‘अबको एउटा मात्र साँचो राष्ट्रवादी लाइन भनेको नेपालको आर्थिक सुधार हो, बाँकी सबै आ–आफ्ना एजेन्डा मात्र हुन् ।’
उनले आफ्नो कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा राखी अतिवादतिर धकेल्ने काम नगर्न आग्रह गरेका छन् । भदौ २३ र २४ गतेको घटना छानबिन हुनुपर्ने बताउँदै उनले भनेका छन्, ‘तर हाम्रो राजनीति जनताको आकांक्षासँग मेल नखाएको यथार्थलाई बेवास्ता गर्नु हुँदैन ।’
नेता पाण्डे एमालेकाे महाधिवेशनमा महासचिवका उम्मेदवार थिए भने प्रतिनिधीले उनलाई केन्द्रीय सदस्यमा समेत हराएका थिए ।
टिप्पणीहरू: