शुक्रबार, २९ चैत २०८१

पूर्व राष्ट्रपतिकाे सक्रियताले तनावमा प्रधानमन्त्री ओली


काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकाे सक्रियता बढेसंगै प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली तनावमा छन् ।

 एमालेका पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउने र एमालेको अध्यक्ष बनाउने गृहकार्य चल्दै गर्दा ओलीले तनाबमा परेका हुन् ।

अहिले एक साताका लागि भण्डारी विराटनगर पुगेकी छिन् । यसबीचमा उनी विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी हुनुका साथै उनको पार्टी नेता एवं कार्यकर्तासँग छुट्टाछुट्टै एवं सामूहिक भेटघाटसमेत चलिरहेको छ । युवा, विद्यार्थीदेखि महिला नेतृसँग भण्डारीले घनिभूत छलफल थालेकी छन् ।

यसअघि नै भण्डारीले आफू एमाले अध्यक्ष बन्ने सम्भावना टरिनसकेको खुलासा गरेकी थिइन् । विराटनगर पुगेर उनले झन् सक्रिय राजनीतिमा आउन लागेको अभिव्यक्ति दिइन् ।

‘राष्ट्रपति पद गैरराजनीतिक होइन, राष्ट्रिय राजनीतिमा म सक्रिय नै छु,’ उनले भनिन्, ‘राष्ट्रिय राजनीतिका समग्र एजेन्डामा सबै पक्षसँग छलफल गरिरहेकी छु, शिक्षा, स्वास्थ्य, खानेपानी, जलवायु परिवर्तन, वैदेशिक रोजगारीमा जानुपर्ने युवाको बाध्यताजस्ता समस्या समाधानका लागि छलफल चलाइरहेकी छु ।’

एमाले अध्यक्ष हुनेगरी नै सक्रिय राजनीतिमा आउन लागेको भन्ने विषय भण्डारीले भनिन्, ‘जहाँसम्म दलीय राजनीतिमा लागेर पदीय जिम्मेवारी लिने कि नलिने भन्ने कुरामा मैले अहिले प्रवेश गरेकी छैन, भोलि कुन दलमा काम गर्ने भन्ने कुरा पनि आउँछ, भोलि जाँदा एमालेबाटै जन्मेर हुर्केर आएको हुनाले त्यहीँ जानुपर्ने हुन्छ तर अहिले छलफल भएको छैन ।’

दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारी अब एमाले अध्यक्ष बन्नेगरी राजनीतिमा आउने तयारीमा छिन् । ‘तत्काल व्यक्त नगरे पनि भेटघाटको उद्देश्य सक्रिय राजनीति नै हो । ‘परिस्थिति मिलेपछि उहाँ सक्रिय हुनुहुन्छ,’ भण्डारीनिकट एक नेताले भने । एमालेभित्र अध्यक्ष ओलीबाट हेपिएका, पेलिएका, किनारा पारिएका भनेर चर्चा गरिने समूह अहिले भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन दौडधुप गरिरहेका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ