- असार ०६, २०८०
काठमाडौं, २३ कार्तिक । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिनुपरेको ‘जापान काण्ड’मा उनीसँगै जापान पुगेकाहरूले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
जापानको टोकियो विमानस्थलबाट डिपोर्ट (निष्कासन) भएर काठमाडौं फर्किएका रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा, खोटाङका ३६ वर्षीय दावा शेर्पा र खोटाङकै जनक राईले प्रतिव्यक्ति १० लाख रुपैयाँ ‘गिरोह’लाई बुझाएको अनुसन्धानका क्रममा खुलेको हो ।
गत १४ कात्तिकमा कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीसहित उनीहरू तीन जनालाई टोकियोस्थित जापानको अध्यागमन कार्यालयले डिपोर्ट गरेको थियो । काठमाडौं विमानस्थलमा ओर्लिएलगत्तै तीनै जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले लिखत किर्तेसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
उनीहरूले प्रारम्भिक बयानमा जापानमा आयोजित सांस्कृतिक कार्यक्रममा सहभागी भएर उतै बस्ने सर्तमा प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको बताएका छन् । प्रहरीसमक्ष उनीहरूले दोलखा घर भएका ३० वर्षीय वीरबहादुर सुनारलाई दुई जनाको २० लाख र धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डेलाई एक जनाको १० लाख रुपैयाँ बुझाएको बताएका छन् ।
प्रहरीका अनुसार, जापानबाट डिपोर्ट भएका देवकोटा र राईको साथबाट कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ‘सहायक’को परिचयपत्र फेला परेको छ । परिचयपत्रमा निमित्त कार्यालय प्रमुख भनेर तत्कालीन मन्त्री लीलाबल्लभ अधिकारीको हस्ताक्षर रहेको छ ।
यस्तै, शेर्पाले खोटाङस्थित ऐंसेलुखर्क गाउँपालिका वडा नम्बर–२ को वडा सदस्यको परिचयपत्र बनाएको पाइएको छ । जापान पठाउने गिरोहले नै उनीहरूका नाममा फर्जी कागजात बनाएको र उनीहरू उड्नुअघि विमानस्थलमा लगेर दिएको अनुसन्धानका क्रममा खुलेको छ । गिरोहका सदस्यले काठमाडौं विमानस्थलमा कञ्चन देवकोटालाई तीनवटा परिचयपत्र दिएकामा उनले आफ्नो राखेर दावा शेर्पा र जनक राईको नामको परिचयपत्र दिएका थिए ।
हालसम्मको अनुसन्धानबाट महेश पाण्डेले फर्जी कागजात बनाएको खुलेको छ । सो गिरोहमा संलग्न दुई जना फरार छन् भने डिपोर्ट भएर आएका र पठाउने काममा संलग्न ६ जना प्रहरीको हिरासतमा छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार जापानबाट डिपोर्ट भएका तीन जनाको बयानका आधारमा जुगल रिजाल, वीरबहादुर सुनुवार र महेश पाण्डे पक्राउ परेका छन् ।
अहिले अधिकारीमाथि पदको दुरुपयोग गर्दै गैरकानुनी तरिकाले मानिसहरू जापान पु-याएको आरोप छ । एमाले प्रदेश संसदीय दलमा मानव तस्करीसँग जोडिएका अधिकारीको विषयमा छलफल भइनसकेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।
टिप्पणीहरू: