शनिबार, ०५ वैशाख २०८३

ओली-प्रचण्डले भेटले कम्युनिष्ट पार्टीमा तरंग


फाइल तस्बिर

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । पत्थरीको अपरेशनपछि टिचिङमा उपचाररत् ओलीलाई भेट्न बिहीबार साँझ सवा ५ बजेतिर प्रचण्ड पुगेका थिए । उनी ३० मिनेट जति बसेको बताइएको छ ।

एमाले र नेकपाको सहकार्य चर्चा चलिरहँदा प्रचण्ड–ओलीबीचको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ । ‘यसपालीको भेट केबल स्वास्थ्यलाभको कामना मात्रै होइन । यो भेटको छुट्टै अर्थ छ ।’ एमालेका एक नेताले भने ।

निर्वाचनमा लज्जास्पद पराजय भोगेपछि एकथरी कार्यकर्ताले वाम एकता गर्नुपर्ने राय व्यक्त गर्न थालेका छन् । केही शीर्ष नेतृत्वले समेत भुइतहको त्यो आवाजलाई ‘आजको आवश्यकता’को रुपमा व्याख्या गरेपछि ओली प्रचण्ड भेटको संयोग जुरेको हो ।

एमालेभित्र निर्वाचन परिणामपछि ओलीले नेतृत्व छाड्नु पर्ने आवाज चर्को स्वरमा उठन थालेको छ । पूर्व राष्ट्रपति विद्यादेवि भण्डारी थप सक्रिय भएसँगै ओलीले प्रचण्डलाई भेट दिएका हुन् । एमालेका एक नेता भन्छन् ‘ओली विद्या भण्डारी भन्दा प्रचण्डलाई पार्टी जिम्मा लगाउन चाहन्छन् ।’ त्यसो त तत्कालिन माओवादी र एमाले मिलेर नेकपा नबनाएका होइनन् । नेकपाले प्रतिनिधीसभामा बहुमत हाँसिल गरे पनि पार्टीभित्रको वैमनश्यताले साँढे दुई वर्षमै सरकार ढलेको थियो । त्यसपछि ओरालो लागेको कम्युनिष्ट पार्टीको यात्रा लगातार ओरालोमै छ ।

ओली प्रचण्ड भेटपछि नेकपा र एमाले वृत्तमा एउटा तरंग सिर्जना गरेकाे छ । तर, आम कार्यकर्ता याे मेलमिलाप स्थायी हुन्छ भन्नेमा आस्वस्त छैनन् ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ