- असार ०६, २०८०
काठमाडाैँ। अबको ६० दिन प्राकृतिक वा अन्य कुनै विपत्ति परेन भने मुलुकले नयाँ प्रधामन्त्री पाउनेछ। प्रधानमन्त्री को? भन्नेमा पनि नेपाली जनता लगभग स्पष्ट भइसकेका छन्। मात्रै जनताले प्रधानमन्त्रीको उम्मेदवार छान्न बाँकी छ।
तीन राजनीतिक दलले चुनावअघि नै भावी प्रधानमन्त्री भनेर दाबी गरेका छन्। यसरी भावी प्रधानमन्त्री भनेर पार्टीले औपचारिक निर्णय गरेर चुनावमा होमिएको पहिलो पटक हो। नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसले सभापति गगनकुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन शाहलाई भावी प्रधानमन्त्री दाबी गरेको छ। अहिलेसम्मको थिति हेर्दा तीनमध्ये एकजना प्रधानमन्त्री हुने निश्चित जस्तै छ।
प्रधानमन्त्रीका दाबेदार केपी ओली र बालेन शाहको वाकयुद्ध अहिले बहसको विषय बनिरहेको छ। प्रधानमन्त्रीका दाबेदारहरुबीच सार्वजनिक बहस कार्यक्रम आयोजना हुनुपर्ने आवाज उठिरहेको बेला एमाले अध्यक्ष ओलीले आफू तयार रहेको प्रतिक्रिया दिएको केही घन्टापछि अर्का दाबेदार बालेनले ओलीसँग एउटै मञ्चमा उभिन अस्वीकार गरेका छन्।
ओली र बालेनको अभिव्यक्ति चुनावी प्रचारको हथ्कण्डा मात्रै हो वा अन्य? पछि खुल्दे जाला तर, अहिले यी दुईले एकअर्कालाई लगाएको आरोप पेचिलो बन्दै गएको छ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट सत्ताच्युत भएका ओली आजसम्म पनि भदौ अन्तिम साताको त्यो घटनालाई आन्दोलन मान्न तयार छैनन्। उनी भदौ २३ र २४ को घटना आन्दोलन नभएर विध्वंस मात्रै भएको दाबी गर्छन्। तर, जेनजी आन्दोलन पक्षधरका उम्मेदवार बालेन शाहले भने भदौ २३ मा तत्कालीन राज्य सत्ताले १९ जना स्कुले विद्यार्थीको हत्या गरेपछि २४ गतको घटना घटेको दाबी गर्छन्। यही घटनाको सम्बन्धमा छानबिन गर्न जाँचबुझ आयोगसमेत बनेकाले खास कुरा के हो? पक्कै सार्वजनिक होला तर, अहिले पनि एउटा घटनालाई दुई ढंगले व्याख्या गर्ने पात्रहरुको प्रतिक्रिया सामाजिक सञ्जालमा बहसको विषय बनेको छ।
सार्वजनिक बहसको प्रसंग उठ्नेबित्तिकै एमाले अध्यक्ष ओलीले आफू सार्वजनिक बहसका लागि तयार भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘नयाँ/पुराना सबै दलहरु अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा (एमाले) देश बनाउने तर्फबाट मैदानमा छ। यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ।’
ओलीले थप भनेका छन्, ‘फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्छ। यसपालीको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरु पनि प्रधानमन्त्रीको उम्मेदवारसमेत तोकेर आएका छन्। देशको नेतृत्व गर्न खोज्ने दलहरुका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमनेसामने बहसको माग अत्यन्त सकारात्मक छ।’
‘यस्तो पब्लिक डिबेटमा आमनेसामने उभिएर यसअघि हामीले के के गर्यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु। चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धता जनाउँछु। त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह गर्दछु।’, ओलीले भनेका छन्।
ओलीको यही भनाईमा प्रतिक्रिया दिँदै भावी प्रधानमन्त्रीका अर्का दाबेदार बालेन शाहले लेखेका छन्, ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो। तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो। आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो? त्योपछि अरू कुरा गरौँला। ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।’
ओलीले जेनजीको नाममा २४ गते विध्वंस मच्चाएको दाबी गरिरहँदा अर्का पात्र बालेनले भदौ २३ र २४ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने दाबी गरेका छन्।
जेनजीले सुशासन र सामाजिक सञ्जाल बन्दको विरोधमा गरेको आन्दोलनमा प्रहरीको गोली लागेर ७६ जनाकाे ज्यान गएको यथार्थ हो। यसमा दोष तत्कालीन सरकारको हो या जेनजीको? छिनोफानो हुँदै गर्दा दुबै जनाले घटनाको मतियार ‘मचाहिँ होइन, ऊचाहिँ हो’ भनिरहँदा यो अभिव्यक्तिको असर मतमा पर्ने निश्चित छ। पब्लिक बहसमा सकसेम्म सहभागी हुनै नचाहने बालेन शाह र चाहिनेभन्दा बढी बहसमा सहभागी ओली को ठिक, को बेठिक दुई जनाको भाले जुधाइ तर्कले मात्रै पुष्टि हुँदैन। त्यसका लागि भने आगामी २१ फागुन कुनैपर्छ।
टिप्पणीहरू: