- असार ०६, २०८०
फाइल तस्बिर
काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेपछि चुनावी क्षेत्र केन्द्रित भएका नेकपा एमालेका नेताहरु अहिले तनावमा छन्। उनीहरुको तनावको विषय बनेको छ, पार्टी अध्यक्ष केपी शर्माप्रतिको आक्षेप।
हरेक निर्वाचन क्षेत्रमा पुगेका एमाले सांसदहरुलाई आफ्ना अध्यक्ष ओलीप्रतिको आक्षेपले नरमाइलो बनाएको छ। स्थानीय मतदाताले रोष प्रकट गरेकै कारण चुनावी क्षेत्रमा अध्यक्ष ओलीलाई नबोलाउने तहमा पुगेका छन्। ‘जिल्लामा विशेष कार्यक्रम गरेर अध्यक्षलाई बोलाउँला भनेको तर, नमिल्ने रहेछ’, निर्वाचनमा खटिएका एक उम्मेदवारले भने।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई आन्दोलन होइन, विध्वंस हो भनेर दाबी गर्दै आएका ओलीलाई त्यही वाक्य अहिले अप्ठ्यारो विषय बनेको छ। ‘अध्यक्षलाई बोलायो भने माहोल बिग्रने खतरा रहेछ, त्यही कारण यसपाली हामीले अध्यक्षलाई चुनावी प्रचारसँग सम्बन्धित कुनै पनि कार्यक्रममा नबोलाउने निर्णय गरेका छौँ’, अर्का उम्मेदवारले भने।
निर्वाचन क्षेत्रमा पार्टीको पक्षमा माहोल बनाउनका लागि आमसभा, चुनावी र्याली जस्ता कार्यक्रम गर्ने र त्यस्ता कार्यक्रममा पार्टीका शीर्ष नेतृत्वलाई उपस्थित गराउने चलन हुन्छ। विगतका चुनावमा पनि एमालेका धेरै उम्मेदवारले ओलीलाई प्रमुख अतिथिको हैसियतमा बोलाएको थियो।
यसपाली माहोल ओलीका पक्षमा नभएकाले धेरै उम्मेदवार ओलीविनाकै कार्यक्रम गर्ने तयारीमा छन्। ओलीको सचिवालयले भने ओली कुन दिन, कुन उम्मेदवारको कार्यक्रममा सहभागी हुने भनेर सूची बनाउँदै निर्वाचनमा सहभागी उम्मेदवारहरुसँग परामर्श गरिरहेका छन्।
‘अध्यक्षज्यूको सेड्युल कहिलेलाई राखौँ?’ भन्दै ओलीको सचिवालयले सोधी खोजी जारी राखे पनि उम्मेदवारहरुले ‘अहिले पर्खिनुस्’ भनेर टारिराखेका छन्। ‘अध्यक्षलाई बोलाऔँ भने माहोला बिग्रने सम्भावना छ। नबोलाऔँ अध्यक्ष रिसाउनुहोला भन्ने डर’, अर्का उम्मेदवारका प्रतिनिधिले भने।
एमालेले भावी प्रधानमन्त्रीका उम्मेदवार अध्यक्ष ओलीलाई अघि सारेर चुनावमा होमिएको छ। गाउँ ठाउँमा तल्लो तहसम्मका कार्यकर्ताले ओलीलाई नबोलाउन सुझाव दिएका छन्। ‘अध्यक्ष ओलीप्रति आम सर्वसाधारण सकारात्मक छैनन्, यस्तो अवस्थामा उहाँ मञ्चमा उपस्थित गराउँदा भोट घट्ने सम्भावना छ’, अर्का एक कार्यकर्ताले भने।
त्रासमा ओली
झापा-५ बाट उम्मेदवार बनेको ओली पछिल्लो समय आफैँ त्रासमा छन्। सोही क्षेत्रबाट काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन शाह उम्मेदवार भएपछि उनी त्रासमा रहेका हुन्।
उम्मेदवार मनोनयनका दिन बालेनको भिडलाई ‘बाहिरिया मान्छे’ भनेर व्याख्या गरेको एमालेले अन्य क्षेत्रमा पनि बालेनको क्रेज उत्तिकै रहेको भेउ पाएपछि अहिले ओलीलाई जिताउन सकिँदैन कि भन्ने त्रासमा झापा-५ का स्थानीय नेता कार्यकर्ता रहेका छन्।
टिप्पणीहरू: