बुधबार, ०४ चैत २०८२

इरानमा अमेरिका र इजरायलले गरेको आक्रमणमा अधिकाशं संरचना प्रभावित


तेहरान। गत महिनाको अन्त्यमा संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा सयुक्त आक्रमण सुरु गरेदेखि इरानमा ४६ हजारभन्दा बढी नागरिक संरचना तथा एकाइहरू प्रभावित भएको जनाइएको छ।

प्रभावितमध्ये करिब ३९ हजार आवासीय संरचना रहेको अन्तर्राष्ट्रिय मामिलाका लागि इरानी रेड क्रिसेन्ट सोसाइटी (आइआरसीएस) का निर्देशक राजीह अलिसावन्दीलाई उदृत गर्दै सिन्हुवाले जनाएको छ।

उनले निरन्तरको आक्रमणप्रति खेद व्यक्त गर्दै छ हजार ८५१ वटा व्यापारिक एकाइहरू पनि क्षतिग्रस्त भएको बताएका छन्।

आक्रमणले लगभग २३६ वटा स्वास्थ्य केन्द्रहरु र १२० वटा विद्यालय तथा शैक्षिक संस्थाहरूमा पनि असर परेको जनाइएको छ।

आक्रमणमा १७ वटा आइआरसीएस केन्द्रहरू क्षतिग्रस्त हुनुका साथै एउटा उद्धार हेलिकप्टर नष्ट भएको उनले बताएका छन्।

अक्रमणमा आइआरसीएसका दश जना कर्मचारी घाइते भएको र एक जनाको मृत्यु भएको अलीसावन्दीले बताएका छन्। शैक्षिक केन्द्रमा भएको आक्रमणमा २०६ जनाको मृत्यु हुनुका साथै १५४ जना घाइते भएको जनाइएको छ। स्वास्थ्य क्षेत्रमा भएको आक्रमणर्मा  १६ जनाको मृत्यु हुनुका साथै अन्य ९६ जना घाइते भएको बताइएको छ।

आइआरसीएसले अमेरिका र इजरायलले अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन गरेको प्रमाण रेकर्ड गरिरहेको उल्लेख गर्दै सशस्त्र द्वन्द्वमा बालबालिका, विद्यार्थी र वृद्धवृद्वा जस्ता व्यक्तिहरूमाथि प्रहार गर्नु नहुने उनले बताएका छन्।

उनले क्यान्सर लगायत दुर्लभ रोगबाट पीडितहरूका लागि औषधि अत्यावश्यक रहेको भन्दै अन्तर्राष्ट्रिय मानवीय सहायताका लागि केन्द्र तयार रहेका बताएका छन्।

उनले आइआरसीएस फार्मेसीहरू चौबिसै घण्टा सञ्चालनमा रहेको जनाउँदै अहिलेसम्म कुनै पनि बिरामीहरू स्वास्थ्य सेवा र औषधिबाट वञ्चित नभएको उल्लेख गरेका छन्।

फेब्रुअरी–२८ मा, इजरायल र संयुक्त राज्य अमेरिकाले तेहरान र अन्य धेरै इरानी शहरहरूमा संयुक्त आक्रमणहरू गर्दा सर्वोच्च नेता अली खमेनी, उच्च पदस्थ सैन्य कमान्डरहरू र नागरिकहरू मारिए भने इरानले इजरायल र मध्य पूर्वमा अमेरिकी सम्पत्ति र आधारहरूलाई लक्षित गर्दै आक्रमणको प्रतिक्रिया दिएको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ