- असार ०६, २०८०
मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ । एकातिर सैन्य आक्रमण तीव्र भइरहेका छन् भने अर्कोतिर कूटनीतिक पहलहरू अस्पष्ट र विरोधाभासी देखिएका छन् । इजरायल र इरानबीच प्रत्यक्ष आक्रमण आदानप्रदानसँगै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शक्तिहरूको भूमिकाले युद्धको दिशा अझ अनिश्चित बनाएको छ ।
इजरायली सेनाले बिहीबार इरानका विभिन्न स्थानहरू, विशेषतः इस्फहानजस्ता केन्द्रीय सहरहरूमा आक्रमणको लहर चलाएको जनाएको छ । यसको जवाफमा इरानले प्रक्षेप्यास्त्र आक्रमण गरेपछि इजरायलले आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारेको थियो । यस क्रममा काफ्र कासेम क्षेत्रमा दुई जना सामान्य घाइते भएको चिकित्सकहरूले बताएका छन् ।
युद्धको उद्देश्यबारे पनि नयाँ बहस सुरु भएको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले सामाजिक सञ्जालमार्फत स्ट्रेट अफ होर्मुज पुनः खोल्ने विषय युद्धको केन्द्रमा सरेको सङ्केत गर्नुभएको छ । सो जलमार्ग बन्द हुनु अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा ठूलो असर पार्ने भएकाले यसको रणनीतिक महत्त्व उच्च छ ।
युद्धको असर विश्व अर्थतन्त्रमा समेत देखिएको छ । तेलको मूल्यमा वृद्धि भएको छ भने सेयर बजारमा मिश्रित प्रतिक्रिया देखिएको छ । ब्रेन्ट क्रुडको मूल्य एक प्रतिशतले बढेर १०३.२५ डलर प्रति ब्यारेल पुगेको छ भने वेस्ट टेक्सास इन्टरमिडियेट १.२ प्रतिशतले बढेर ९१.४१ डलरमा कारोबार भइरहेको छ । एसियाली बजारमा उतारचढाव देखिँदा लगानीकर्ताहरू सम्भावित कूटनीतिक समाधानको प्रतीक्षामा छन् ।
चीनले भने परिस्थिति सुधारतर्फ सानो आशा देखिएको जनाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले टर्की र इजिप्टका समकक्षीसँगको संवादमा इरान र अमेरिका दुवै वार्तामा फर्कन इच्छुक देखिएको सङ्केत गर्नुभएको छ । तर यो दाबी अन्य पक्षहरूको भनाइसँग मेल खाँदैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा संलग्न रहेको तर सार्वजनिक रूपमा स्वीकार गर्न डराइरहेको आरोप लगाउनुभएको छ । उहाँका अनुसार इरानी वार्ताकारहरू आफ्नै पक्षबाट जोखिममा पर्न सक्ने डरले खुलेर कुरा गर्न सकिरहेका छैनन् । तर इरानका विदेशमन्त्री अब्बास अराघचीले स्पष्ट रूपमा वार्ता अस्वीकार गर्दै वर्तमान नीति ‘प्रतिरोध’ मा आधारित रहेको बताउनुभएको छ । उहाँले वार्ता गर्नु भनेको हार स्वीकार्नु सरह हुने धारणा राख्नुभएको छ ।
यसबीच अमेरिकाले इरानको सैन्य क्षमतामा ठुलो क्षति पु¥याएको दाबी गरेको छ । अमेरिकी सेनाका अधिकारीका अनुसार इरानका दुई तिहाइ मिसाइल तथा ड्रोन उत्पादन संरचना ध्वस्त पारिएको छ र आक्रमण क्षमतामा ९० प्रतिशतसम्म गिरावट आएको छ ।
क्षेत्रीय तनाव थप बढाउने घटनाहरू पनि भएका छन् । कुवेतले इरान समर्थित हिजबुल्लाहसँग सम्बन्धित रहेको आरोपमा छ जनालाई पक्राउ गरेको छ, जसले देशभित्र आक्रमणको योजना बनाइरहेका थिए । उता इरानका संसद् अध्यक्ष मोहम्मद बाघेर घालीबाफले केही शत्रुहरूले क्षेत्रीय सहयोगमा इरानी टापुहरू कब्जा गर्ने योजना बनाइरहेको चेतावनी दिनुभएको छ ।
खाडी क्षेत्रका देशहरू-साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन र जोर्डन—ले संयुक्त वक्तव्य जारी गर्दै इराकलाई आफ्नो भूमिबाट इरान समर्थित समूहहरूद्वारा हुने आक्रमण रोक्न आग्रह गरेका छन् ।
यसैबीच, लेबनानस्थित हिजबुल्लाह समूहले इजरायलसँग कुनै पनि युद्धविराम वार्ता अस्वीकार गरेको छ । समूहका प्रमुख नइम कासिमले यस्तो वार्ता आत्मसमर्पण बराबर हुने बताउनुभएको छ । समूहले पछिल्लो दिन ८० भन्दा बढी आक्रमण गरेको दाबी गरेको छ भने दक्षिण लेबनानमा इजरायली आक्रमणबाट कम्तीमा आठ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ ।
विपरीत दाबीहरूको बीचमा अमेरिकी पक्षले भने वार्ता जारी रहेको जनाएको छ । ह्वाइट हाउसका अनुसार अमेरिका र इरानबीच संवाद भइरहेको र त्यसले केही प्रगति समेत देखाएको छ, यद्यपि यसको विवरण पूर्ण रूपमा सार्वजनिक गरिएको छैन ।
टिप्पणीहरू: