सोमबार, ०८ पुस २०८१

माओवादीले गर्याे उम्मेदवारको नाम अनुमोदन


काठमाडौँ, २६ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहका रिक्त स्थानमा हुन लागेको उपनिर्वाचनका लागि तल्ला समितिबाट सिफारिस भई आएका उम्मेदवारको नाम अनुमोदन गरेको छ । 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन पार्टी पङ्क्ति र जनसमुदायलाई आग्रह गरेको छ । आगामी मङ्सिर १६ गते स्थानीय तहका विभिन्न ४४ स्थानमा उपनिर्वाचन हुन लागेको छ । निर्वाचनमा पार्टीका तर्फबाट तय भएका उम्मेदवारलाई विजयी गराउने योजनासमेत तय भएको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।  

त्यस्तै, बैठकले आगामी मङ्सिर मसान्तसम्ममा पालिका सम्मेलन सम्पन्न गर्ने र खबरदारीसभा गर्ने निर्णय बैठकले गरेको छ । जनपरिचालनसहित गरिने खबरदारीसभाले सुशासनको पक्षमा दबाव दिने प्रवक्ता सापकोटाको भनाइ थियो । यसैगरी आगामी पुस २ गतेका लागि पार्टीको केन्द्रीय समितिको बैठक बस्ने गरी आवश्यक तयारी गरिएको उनले जानकारी दिए ।  

अग्रगमन र परिवर्तनको पक्षमा संविधान संशोधन हुनुपर्नेमा प्रवक्ता सापकोटाले जोड दिए । उनले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्नेमा पार्टीले जोड दिएको स्पष्ट पारे । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ