- असार ०६, २०८०
काठमाण्डाै, १ मंसिर । मङ्सिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनमा तेस्रो लिङ्गी महिला दीपक महर्जन (हनि) र राजीव महर्जन (मौनी)को उम्मेदवारी घोषणा भएको छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले कीर्तिपुर नगरपालिकाको मेयरमा तेस्रो लिङ्गी महिला हनि र वडा नं ४ को वडा अध्यक्षमा मौनीलाई उम्मेदवार बनाउने घोषणा गरेको हो।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि वकालत गर्दै आएको मायाको पहिचान नेपालको पहलमा हनि मेयर र मौनी वडा अध्यक्ष पदमा उम्मेदवार बन्न सफल भएका हुन्। मायाको पहिचान नेपालले राजनीतिमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सहभागिता र प्रतिनिधित्वबारे गरेको छलफलमा हनि र मौनीले उम्मेदवार बन्ने चाहना व्यक्त गरेका थिए।
मायाको पहिचान नेपालको कार्यालयमा शनिवार पत्रकार सम्मेलन गरेर हनि र मौनीले उम्मेदवारी घोषणा गरे। कार्यक्रममा जसपा नेपालका उपाध्यक्ष विद्युत् बज्राचार्यले राज्यको ध्यान नगएको अवस्थामा पार्टीको ध्यान जानु पर्छ भनेर तेस्रो लिङ्गीलाई उम्मेदवार बनाउने घोषणा गरेको बताए। उनले कीर्तिपुर नगरको मेयर र वडा अध्यक्षमा पार्टीका उम्मेदवारलाई निर्वाचित गराउन सिङ्गो पार्टी लागेको बताए।
जसपा नेपालका केन्द्रीय सदस्य राजन केसी, सन्तोष सिलवाल, विना सिन्हा, केन्द्रीय निर्वाचन प्रतिनिधि मनोज वर्मा, केन्द्रीय पहिचान विभागका प्रतिनिधि विकास कान्छा ब्लोन, नेवा प्रदेश सदस्य राकेश श्रेष्ठ, मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डे, नेपालमा दोस्रो पटक भएको मिस्टर गे हेन्डसमका उपाधि विजेता मनिन्द्र सिंह दनुवार लगायतले कीर्तिपुर नगरको पहिचानसँगै विकासका कामलाई अगाडी बढाउन पार्टीका उम्मेदवारको ठुलो भूमिका रहने विश्वास व्यक्त गरे।
मेयरका उम्मेदवार हनिले जसपा नेपालले उम्मेदवार बनाएकोमा गर्व लागेको बताए। उनले दबिएर बस्नु पर्ने अवस्थामा रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको समस्या समाधानसँगै कीर्तिपुरको विकासमा महत्त्वपूर्ण योगदान गर्ने बताए।
सबै खाले शोषण, उत्पीडन र विभेदको अन्त्य गर्न सधैँ सङ्घर्षरत रहने शपथ खाएका हनिले मङ्सिर २ गते मेयर पदमा उम्मेदवारी दर्ता गराउने बताए। कीर्तिपुर नगरपालिकामा तेस्रो लिङ्गी महिलाले पहिलो पटक उम्मेदवारी दिन लागेका हुन्।
देशभरका स्थानीय तहको नेतृत्वमा पुरुष र महिला मात्र छन्। कीर्तिपुर नगरमा पहिलो पटक तेस्रो लिङ्गी महिलाले उम्मेदवारी घोषणा गरे लगत्तै नगरवासीमा चासो बढेको छ। हनिले हाम्रो सपनाको सहर, कीर्तिपुर नगर नारा राखेर आफ्ना प्रतिबद्धता पनि सार्वजनिक गरेकी छन्।
हनिको चुनावी प्रतिबद्धता
सफा, स्वच्च र सुन्दर कीर्तिपुरलाई भ्रष्टाचार मुक्त नगर बनाउने प्रतिबद्धता हनिले गरेकी छन्। विद्युतीय सुशासन सेवालाई प्रभावकारी बनाउने, युवा बेरोजगारी अन्त्य गर्ने र रोजगारीको व्यवस्था गर्ने मेयरका उम्मेदवार हनिको घोषणा पत्र सार्वजनिक भएको छ।
उद्यमी बन्न प्रोत्साहन पुग्ने कार्यक्रम सञ्चालन गर्ने, पदमार्गहरूको पहिचान गर्ने र पर्यटकहरूका लागि घुम्नै पर्ने सहरका रूपमा विकास गर्ने उनको अर्को घोषणा छ। कर प्रणालीलाई न्यायसङ्गत बनाउने, घरजग्गा कर समायोजन गरेर राहत दिने र वृद्धवृद्धालाई घरमै स्वास्थ्य सेवा पुर्याउने प्रतिबद्धता हनिले गरेकी छन्।
धार्मिक एवं पर्यटकीय सम्पदाहरूको संरक्षण गर्ने, हराउँदै गएका नेवा संस्कृतिको जर्गेना गर्ने र इन्द्रेणी पर्यटकको पहिलो गन्तव्यको रूपमा विकास गर्ने हनिको प्रतिबद्धता रहेको छ।
ढल, खानेपानी, सडक बाटोको मर्मत, संहारको काम व्यवस्थित बनाउने र विकासमा जनताको सहभागितालाई सुनिश्चित गर्ने हनिको चुनावी प्रतिबद्धता छ। आधुनिक भौतिक पूर्वाधारको विकास गर्ने, वातावरण संरक्षणका लागि प्रदूषण नियन्त्रण गर्ने र पार्क तथा हरित क्षेत्र निर्माण गर्दै नगरवासीको जीवनस्तरमा वृद्धि गर्ने योजना पनि हनिले सार्वजनिक गरेका छन्।
सामाजिक परिवर्तनको मूल मर्म विथोल्नेविरुद्ध मैत्रीपूर्ण वैचारिक सङ्घर्षलाई अगाडि बढाइने, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र उत्पीडित वर्ग समुदायलाई विकासको मूल प्रवाहमा समाहित गराउने लैङ्गिक पहिचानका आधारमा हुने सबै खाले विभेद अन्त्य गर्ने हनिको चुनावी प्रतिबद्धता रहेको छ।
टिप्पणीहरू: