सोमबार, ०८ पुस २०८१

किन गरे प्रधानमन्त्रीले कार्यकर्तालाई सडकमा आउन निर्देशन ? सरकार ढल्ने संकेत !


काठमाडौं, २५ मंसिर । आफू नेतृत्वको सरकार ढुक्कले चल्ने दाबी गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सरकार ढल्नसक्ने’ संकेत गरेका छन् । सत्तारूढ दलले साथ छोड्ने ‘डर र त्रास’मा रहेका प्रधानमन्त्री ओलीले सरकारको आयु आफैं तोक्दै सत्तारूढ दललाई फकाउने गरेका छन् ।

मन्त्रिपरिषद् हेरफेर गर्न खोजेका प्रधानमन्त्री ओलीलाई सत्तारूढ दलबाट साथ मिलेको छैन । चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना कार्यान्वयवन गर्ने विषयमा ऋण लिनेसमेत प्रधानमन्त्री ओलीको चाहना थियो । तर, सत्तारूढ नेपाली कांग्रेसले ऋणमा नभई अनुदानमा सो परियोजना लागू गर्नुपर्ने अडान अझै जारी नै छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र कांग्रेस नेताका बीचमा दूरी बढदै गइरहेको छ । छिमेकीले समेत अहिलेको सरकारलाई नरुचाएको चर्चाका बीचमा नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री ओलीसँग भेटघाट गरेनन् ।

ओलीको चीन भ्रमण नसकिँदै नेपाल भ्रमणमा आएका लुले कांग्रेसका सभापति शेरबहादुर देउवादेखि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री विष्णु पौडेलसम्मलाई भेटघाट गरे । तर, प्रधानमन्त्री ओलीलाई भने भेट्न चासो देखाएका छैनन् । लुले नभेट्ने संकेत दिएसँगै ओली विभिन्न कार्यक्रम बनाएर गृहजिल्ला झापातर्फ लागेका हुन् ।

गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री ओलीको मनभित्र सत्तारूढ कांग्रेसले ‘गडबड’ गर्ला कि भन्ने भय र त्रास रहेको देखिन्छ । त्यसैले, उनले सरकार ढल्ने संकेत गर्दै आफ्ना कार्यकर्तालाई सडकमा उत्रिनका लागि तयारी अवस्थामा रहन निर्देशनसमेत दिएका छन् ।

बिर्तामोडमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पार्टीका नेता कार्यकर्तालाई सडकमा जुनसुकै बेलामा उत्रिनुपर्ने अवस्था रहेकाले त्यसको तयारीमा रहन निर्देशन दिए । एमाले एउटा क्रान्तिकारी पार्टी भएको दाबी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘राजनीति त बिथोलिँदो रहेछ, राजनीति त प्रतिगमनमा सजिलैसित जान सक्दो रहेछ, हामी सजग, संगठित र आन्दोलनकारी हुनुपर्छ, कोठामा बसेर ठूला कुरा गर्ने जुलुसमा निस्कन नसक्ने भएपछि कसरी हुन्छ ? हामीले आन्दोलनकारी प्रवृत्ति छाड्न हुँदैन, सडकमा उत्रिन सधैं तयार हुनुपर्छ ।’

उनले मुलुकमा अस्थिरता, अराजकता र भ्रष्टाचारविरुद्ध सचेत, संगठित एवं सक्रिय हुनुपर्ने बताए । तर, सरकारको नेतृत्व आफंैले गरेका ओली आफैं भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको विपक्षी दलका नेता प्रचण्डलगायतले आरोप लगाउँदै आएका छन् । ओलीले झापा विद्रोहलाई गौरवशाली इतिहास भन्दै कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताले शान्तिपूर्ण आन्दोलनमा समेत क्रान्तिकारीजस्तो उभिनुपर्ने बताए ।

एमालेका विरुद्धमा देशी विदेशी शक्ति लागेको टिप्पणी गर्दै उनले मुलुकमा अस्थिरता, अराजकता फैलाउन केही व्यक्तिहरू लागेको आरोपसमेत लगाए । पार्टीका नेताकार्यकर्ताले जनतासँगको सम्बन्धलाई निरन्तर बलियो बनाउन र जनताका समस्या बुझेर समाधानमा पहल गर्नुपर्ने उनले बताए । उनले प्रतिस्पर्धी र विरोधीका गलत आरोपलाई डटेर सामाजिक सञ्जालबाट खण्डन गर्न निर्देशनसमेत दिएका छन् ।

उता, कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले बीआरआई परियोजना ऋणमा नभई अनुदानमा मात्रै स्वीकार गर्ने अडान दोहो¥याएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ