मङ्गलबार, ०४ कात्तिक २०८२

एमाले बैठकमा ईश्वरी जीएमकाे सुझाव- पद र अवसर जति आफन्त र पैसावाललाई दिने प्रवृत्ति राेकाैँ


काठमाडाैँ। नेकपा एमालेकी केन्द्रीय सदस्य ईश्वरी जीएमले पद र अवसर जति आफन्त, नजिकका र पैसावाललाई दिने प्रवृत्ति राेक्न सुझाव दिएकी छन्।

ललितपुरमा जारी एमालेको दशौँ केन्द्रीय कमिटी बैठकमा शुक्रबार जीएमले पार्टीमा समानुपातिक समावेशी शैली संविधानले कल्पना गरेविपरीत व्यापक दुरुपयाेग भएकाे भन्दै यस्ताे सुझाव दिएकी हुन्।

उनले एउटा निर्वाचन क्षेत्रबाट एउटा व्यक्ति कति पटक प्रत्यक्ष निर्वाचन लड्न पाउने भन्ने कुराकाे पनि नीति बन्न जरुरी रहेकाे बताइन्।

‘समानुपातिक सांसद दाेहाेरिएर हुन नपाउने कुरा एकदम ठिक छ तर एउटा निर्वाचन क्षेत्रबाट एउटा व्यक्ति कति पटक प्रत्यक्ष निर्वाचन लड्न पाउने भन्ने कुराकाे पनि नीति बन्न जरुरी छ। निर्वाचन क्षेत्र एउटै व्यक्तिकाे पेवा जस्तै भए अर्को नेतृत्व जन्मिने अवसर कसरी मिल्छ?’, उनले प्रश्न गरिन्।

केन्द्रीय सदस्य जीएमले विघटित प्रतिनिधिसभा पुनर्स्थापना मुडभेट नहुने गरी सडक आन्दोलनभन्दा कानुनी र दलहरुबीचकाे राजनीतिक संवादबाट खाेज्न सुझाव दिइन्।

उनले निर्वाचनकाे पनि तयारी गर्दै पछिल्लो राजनीतिक घटनाक्रमले निरास भएका जनता, कार्यकर्ता र पार्टी पंक्ति उत्साहित हुने जनपरिचालनका कार्यक्रम तय गर्ने सुझाव दिइन्।

ईश्वरी जीएमले बैठकमा राखेका भनाइ

१. विघटित प्रतिनिधिसभा पुनर्स्थापना मुडभेट नहुने गरी सडक आन्दोलन भन्दा कानुनी र दलहरुबीचकाे राजनीतिक संवादबाट खाेजाैँ। निर्वाचनकाे पनि तयारी गर्दै पछिल्लो राजनीतिक घटनाक्रमले निरास भएका जनता, कार्यकर्ता र पार्टी पंक्ति उत्साहित हुने जनपरिचालनका कार्यक्रम तय गराैँ। 

२. पार्टीको आसन्न एघारौं महाधिवेशनमा जेन जि पुस्तासहित युवाकाे प्रतिनिधित्वलाई सुनिश्चित गर्न प्रतिनिधि छनाैटदेखि कमिटिमा समावेश हुने गरी मापदण्ड र नीति तय गराैँ।  साथै महाधिवेशनबाट नयाँ कमिटी चयन गर्ने अधिकार निर्वाचनका माध्यमबाट महाधिवेशन प्रतिनिधिलाई दिदा उत्तम हुन्छ। टिके प्रथाले पार्टी पुनर्गठन र सुदृढीकरण हुन सक्दैन, झन कमजाेर हुन्छ भन्ने कुरा बुझाै। पछिल्लो समय नेकपा एमाले र नेताहरुप्रति आम नागरिकको बुझाई कस्तो छ भन्ने कुरा सामाजिक सञ्जालका कमेन्टहरु, सार्वजनिक स्थलमा गरिने टिप्पणीहरुलाई समेत मनन् गर्दै अघि बढ्न म अपिल गर्दछु। 

३. भदौ २३ गतेकाे जेनजि आन्दोलनमा सरकारकाे फितलो सुरक्षा व्यवस्था र युवा विद्यार्थीमाथि अन्धाधुन्ध गाेली प्रहार दु:खदायी थियाे। २४ गतेकाे घटनामा लामाे तयारीसहितको सुनियोजित थियाे भन्ने कुरा अध्यक्षज्यूकाे प्रतिवेदनमै आएको देखिँदा प्रधानमन्त्री कार्यालयकै मातहतका सुरक्षा निकायहरुले किन राेक्न उदासीन भए? विचारणीय छ। यस सम्बन्धमा सुक्ष्म छानबिन हुन आवश्यक छ। 
 
४. अध्यक्ष कमरेडसहित हामी सबैले अब हाम्राे पार्टीको वर्तमान अवस्थाबारेकाे सत्य र यथार्थतालाई स्विकार्दै अघि बढ्नु आवश्यक छ। जनता भन्दामाथि राजनीतिक दल हुन सक्दैन, दल जनताको उपज हाे। स्वयम् संविधान पनि जनताको विश्वास रहेसम्म रहने हाे। दल र हाम्रो पार्टी प्रति युवा समूह र आम जनता, कार्यकर्ताले विगतदेखि नै सुद्विकरणकाे माग गर्दै आएका हुन्। सुद्विकरण हुन नसक्दा अनियमितता र भ्रष्टाचार बढ्न गएकाले सुशासनको अवस्था ज्यादै कमजाेर देखा पर्न पुग्याे ।

हामीले विगतदेखि नै हाम्रा व्यक्तिगत र संस्थागत आचरणमा सुधार गर्न सकेनौं यसैकाे विस्फोट अहिलेकाे अवस्था हाे भन्ने कुरा हामीले स्विकार्नु पर्दछ। जनताले हामीलाई पटकपटक सत्ता र सरकारमा पुर्याएकै हुन् तर पनि हाम्रो नेतृत्वकाे ३ तहकै सरकारकाे नीति, कार्यक्रम र बजेटलाई जबजकाे मार्गदर्शनमा समाजवादकाे आधार तयार पार्ने खाले तर्फ केन्द्रित गर्दै पार्टीलाई बलियाे बनाउन सकेनौं भन्ने वास्तविकताकाे सामुहिक आत्मालाेचना गर्दै जनता कार्यकर्तामा पुनः विश्वास प्राप्त गर्नेगरी अघि बढ्ने वातावरण बनाऔं ।

५. हाम्रो पार्टीमा समानुपातिक समावेशी शैली संविधानले कल्पना गरेविपरीत व्यापक दुरुपयाेग भयाे । पार्टी चलाउन जनता, कार्यकर्ता चाहिने तर पद र अवसर जति आफन्त, नजिकका र पैसावाललाई दिने प्रवृत्ति राेकाैँ। समानुपातिक सांसद दाेहाेरिएर हुन नपाउने कुरा एकदम ठिक छ तर एउटा निर्वाचन क्षेत्रबाट एउटा व्यक्ति कति पटक प्रत्यक्ष निर्वाचन लड्न पाउने भन्ने कुराकाे पनि नीति बन्न जरुरी छ। निर्वाचन क्षेत्र एउटै व्यक्तिकाे पेवा जस्तै भए अर्को नेतृत्व जन्मिने अवसर कसरी मिल्छ?

६. कथित सल्लाहकारहरुले हाम्रो पार्टी नेतृत्वलाई सीमित घेराभित्र पार्ने प्रवृत्ति, यथार्थताभन्दा बेग्लै रिपोर्टिङ र गलत सुचना दिई भ्रम फैलाउने कारण पार्टीका इमान्दार र देशभक्त कार्यकर्ताहरुकाे मनाेबल खस्किएको यथार्थतालाई स्विकार्दै नेतृत्वले सबैसँग समान व्यवहार गर्न सकेमा नै नेतृत्वप्रतिकाे विश्वास अभिबृद्वि भई पार्टी बलियो हुने कुरामा हेक्का राख्न सक्नुपर्ने हुन्छ।

आजको केन्द्रीय कमिटी बैठक
केन्द्रीय सदस्य
ईश्वरी जीएम

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ