बुधबार, २४ मंसिर २०८२

ओली असक्षम भए, राम्रा र नराम्रा कामको जस-अपजस दुबै लिनुपर्छ: सुरेन्द्र मानन्धर


काठमाडौं। नेकपा (एमाले)को केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरले पार्टी निर्माणमा उर्जावान समय दिएका कार्यकर्ता पाखामा परेको बताएका छन्।

उनले पार्टी निर्माणमा योगदान गर्नेहरूलाई पाखा लगाउँदा एमाले अहिलेको संकटमा पुगेको बताए।

एमाले अध्यक्ष केपी शर्मा ओली असक्षम रहेको बताउँदै उनले राम्रा र नराम्रा कामको जस र अपजस दुबै ओलीले लिनुपर्ने बताए।

मानन्धरले आन्दोलन र पार्टी नेतृत्व दुबै सच्याउन केन्द्रीय कमिटीमै लिखित रूपमा प्रस्ताव दर्ज गरेको जानकारी दिँदै पार्टी र आन्दोलन फरक कित्तामा पुगेको बताए।

उनले एमालेमा युवा संगठन भए पनि युवा नभएको, किसान संगठन रहेको तर किसान एमालेसँग नभएको बताए। नेतृत्वको नालायकीको कारण कम्युनिष्ट आन्दोलन दुर्घटनाको शिकार भएको दाबी गरे।

उनले देश अफ्ठेरोमा परिरहेको समयमा नेतृत्व नातामा रूमलिएको भन्दै जुन वर्गका लागि काम गर्नुपर्ने हाे, त्यो हुन नसकेको बताए।

पार्टीमा सामूहिकता हराएको बताउँदै मानन्धरले एउटा समूह अहिले पनि महाधिवेशनमा भाँडभैलो गर्ने गरी तयारी गरिरहेको जिकिर गरे।

राजनीतिक दलसम्बन्धी ऐनलाई नै व्यवस्थित गरेर दलहरूलाई प्रभावारी बनाउनुपर्नेमा जोडदिँदै उनले दलहरूभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्ने धारणा राखे।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ