- असार ०६, २०८०
काठमाडौँ । प्रतिनिधिसभाको बैठक निर्धारित समयमन्दा २५ मिनेट ढिला सुरु भएको छ । सभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल र पारित गर्ने सम्भावित कार्यसूची छ ।
बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘समितिको प्रतिवेदन, २०८३ माथि दफावार छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
उक्त प्रतिवेदनमाथि प्राप्त संशोधनहरुलाई पारित गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
प्रतिनिधिसभाको गत चैत २३ गतेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद पराजुलीको संयोजकत्वमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सांसद सम्मिलित १५ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको थियो ।
समितिमा ओजस्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुश्बु ओली, गजाला शमीम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, बलावती शर्मा, मधुकुमार चौलागाईं, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादव र सुलभ खरेल थिए ।
बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछन् ।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तरराष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नं ८१) र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं २९ पेस गर्ने संसद् सचिवालयले जनाएको छ ।
टिप्पणीहरू: