बुधबार, ०३ वैशाख २०८२

सरकारको चर्को आलोचना हुन थालेपछि बोलाइयाे उच्चस्तरीय संयन्त्रको बैठक


काठमाडौं । सत्ता साझेदार कांग्रेसका नेताबाटै सरकारको आलोचना हुन थालेपछि प्रधामन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । बैठक आज साँझ बस्ने भएको छ ।

कांग्रेस महामन्त्री गगन थापा र नेता शेखर कोइरालाले सरकारको कार्यक्षमता माथी पटक पटक प्रश्न उठाइरहेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले सरकारले डेलिभरी दिन नसकेकै कारण जनतामा असन्तुष्टि बढेको प्रतिक्रिया दिएका थिए । त्यसो त माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सरकार ढल्न सक्ने प्रतिक्रिया दिएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीबीच यिनै विषयमा केन्द्रित रहेर मंगलबार एक घन्टा वार्ता भएको थियो । दुई नेताले गठबन्धनमा कुनै समस्या नरहेको भने पनि असमझदारी बढ्दो छ । सरकार एकढिक्का रहेको सन्देश दिनका लागि संयन्त्रको बैठक राखिएको एमालेका एक नेताले बताए ।

गभर्नर नियुक्ति, शिक्षक आन्दोलन र सरकारको काम गर्ने शैलीका विषयमा व्यापक टिका टिप्पणी भएको छ । 

कांग्रेस–एमालेको संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् । कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ