- असार ०६, २०८०
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएकाे छ।
बैठकमा सार्वजनिक सेवालाई सरल, पहुँचयोग्य र झञ्झटरहित बनाउनेलगायत विषयमा छलफल हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा भीष्मकुमार भुसालले जानकारी दिए।
गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकबाट प्रधानमन्त्री ओलीको अध्यक्षतामा गठन भएको आयोगको पहिलो बैठक यही असार ४ गते भएको थियो।
आयोगमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालगायत सदस्य छन्।
आयोगमा राजनीतिक दलबाट दुई, विज्ञमध्येबाट तीन सदस्य (एक महिला) मनोनयन प्रक्रिया पनि अघि बढेको जनाइएको छ।
आयोगले सेवा प्रदायक निकायको भौतिक तथा मानवीय संरचना, कार्यविधि र प्रविधि सेवामैत्री बनाउने, निर्णय प्रक्रियामा ढिलासुस्ती नगर्ने, नतिजामूलक र कार्यसम्पादनमा दोहोरोपन हुन नदिने, तहगत एवं निकायगत अन्तर–समन्वय सुनिश्चित गर्ने कार्यक्षेत्र पाएको छ।
तीन तहका सरकारबीच सहकार्य र समन्वय गर्ने सङ्घीयता अनुकूल हुनेगरी विद्यमान प्रशासनिक संरचना, कार्य प्रक्रिया र कानूनमा सुधार गर्ने, सुशासनसम्बन्धी ऐनकानुनमा सुधारका विषय पहिचान गर्ने, निजामती सेवालाई सक्षम, उच्च मनोबलयुक्त र उत्तरदायी बनाउने जिम्मेवारी पनि आयोगलाई दिइएको छ।
टिप्पणीहरू: