शुक्रबार, ०२ साउन २०८२

पाकिस्तानमा भारी वर्षा: २४ घण्टामा ५४ जनाको मृत्यु, २२७ घाइते


रावलपिन्डी। पाकिस्तानमा पछिल्लो २४ घण्टामा भारी मनसुनी वर्षाका कारण ५४ जनाको मृत्यु भएको सरकारको विपद् एजेन्सीले बिहीबार बताएको छ। यो सँगै जुनको अन्त्यमा मनसुनी वर्षाका कारण मृतकको सङ्ख्या करिब एक सय ८० पुगेको छ।

बुधबार बिहानदेखि पञ्जाब प्रान्तका केही भागमा मुसलधारे वर्षा हुँदा सहरी बाढी निम्त्याएको छ।

राजधानी इस्लामाबादको छेउमा रहेको रावलपिन्डी सहर हुँदै बग्ने नदी नजिकै बस्ने बासिन्दाहरूलाई पानीको सतहमा तीव्र वृद्धि भएपछि खाली गर्न आदेश दिइएको छ।

‘पछिल्लो २४ घण्टामा पाकिस्तानभरि ५४ जनाको मृत्यु भएको छ र दुई सय २७ जना घाइते भएका छन्, अधिकांश मृत्यु पञ्जाबबाट भएको रिपोर्ट गरिएको छ’, राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ताले एएफपीलाई भने।

जुन २६ मा मनसुन सुरु भएदेखि ७० बालबालिकासहित करिब एक सय ८० जनाको मृत्यु भएको र करिब पाँच सय जना घाइते भएको प्रवक्ताले बताए।

राष्ट्रिय मौसम विभागले शुक्रबारसम्म भारी वर्षा जारी रहने चेतावनी दिएपछि रावलपिन्डी सरकारले मानिसहरूलाई घरमै राख्न बिहीबार सार्वजनिक बिदा घोषणा गरेको छ।

‘जोखिमपूर्ण क्षेत्रका बासिन्दाहरूले आपत्कालीन अवस्थामा तीनदेखि पाँच दिनसम्म खाना, पानी र आवश्यक औषधिहरू सहितको आपत्कालीन किटहरू तयार गर्नुपर्दछ’, सरकारले भनेको छ।

सन् २०२२ मा मनसुनी बाढीले देशको एक तिहाइ भाग डुबाएको थियो र एक हजार सात सय जनाको मृत्यु भएको थियो।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ