- असार ०६, २०८०
काठमाडौं। आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले बैंकरहरुको मनोमानी लुटले बैंकहरु अस्तव्यस्त भएको बताएका छन् ।
सर्वसधारणले ऋण नपाउने तर बैंककै प्रमोटर सेयरधनीले बैंकिंङ क्षेत्रमा लुट मचाइरहँदा दुई तिहाईको शक्तिशाली सरकार के हेरेर बसेको भन्दै उनले प्रश्न समेत गरेका छन् ।
प्रतिनिधि सभाको आज (शुक्रबार) बसेको बैठकको विशेष समयमा सम्बोधन गर्दै आजपा अध्यक्ष साहले दुनियमा जो प्रहरी उही चोर, जो धनी उहीँ ऋणी कही पनि नभएको बताउदै ‘जो बैंकर छ, उहीँ ऋणी छ’ यसले देशलाई विनाश गर्ने बताए ।
‘सम्मानिय सभामुख महोदय, बैंकरहरूको मनोमानी लुटले आज बैंकहरु अस्तव्यस्त भएका छन् । एकातिर आम जनताले कर्जा पाइरहेको छैन र अर्कोतिर बैंकमा पैसा थुप्रिएको छ,’ आजपा अध्यक्ष साहले भने, ‘तरलता प्रशोधनको नाममा राष्ट्र बैंकले झण्डै २१ अर्ब ब्याज तिर्नुपरेको छ ।’
जनताले ब्याजमा पैसा नपाउने र जनताकै पैसाबाट बैंकलाई ब्याज दिनुपर्ने अवस्था रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।
गभर्नरको कार्यकाल सकिनुभन्दा एक महिनाअघि नै गभर्नर नियुक्त गर्नुपर्ने भन्दै दुई तिहाईको शक्तिशाली सरकारले अहिलेसम्ममा गभर्नर नियुक्त गर्न नसकेकोमा उनले सरकारको ध्यानाकर्षणसमेत गराएका छन् । सत्तारुढ पार्टीहरूको आन्तरिक द्वन्द्वका कारण गभर्नर नियुक्त हुन नसकेको भनेर टिप्पणी भइराखेको पनि उनले स्मरण गराए ।
उनले सरकारलाई प्रश्न गरे, ‘यही हो तपाईंहरूको दुई तिहाइको सुशासन? दुई महिनाअघि नै नियुक्त हुनुपर्ने गभर्नर अहिलेसम्म नियुक्त भएको छैन । दुनियाँलाई थाहा छ, तपाईंहरुको द्वन्द्वको कारण, पार्टीका नेताहरुको द्वन्द्वको कारण गभर्नर नियुक्त नभएको कुरा छ्यापछ्याप्ती छ ।’
उनले यस्तो परिस्थितिले देशको अर्थतन्त्रलाई असर गर्ने उनले बताए ।
अर्थतन्त्र सुधार गर्नका लागि बैंकिङ अवस्थामा समेत सुधार आउन आवश्यक रहेको उनले बताए । बैंकरहरूले विदेशमा पैसा लाने गरेको पनि उनले बताए । ‘बैंकरहरु जो नेपाली जनता गरिब जनताको पैसा लुटेर मनोमानी गर्ने र विदेश लाने यो जुन परिपाटी छ । यसलाई रोक्न जरुरी छ । दुनियामा काहीँ पनि जो ऋणी उहीँ धनी, जो धनी उही ऋणी कही पनि थिएन । जो बोक्सी उहीँ झाक्री हो भने देशमा विनाश हुन्छ सभामुख महोद्य । आज जो बैंकर छ उही ऋणी छ । हामी हेर्छौ सिपाही र चोर एउटै हुदैन् । तर नेपालमा उही बैंकर उहीँ ऋणीका कारणले हाम्रो देशको अर्थतन्त्रमा ठुलो असर परिरहेको हामी देखिरहेका छौं,’ आजपा अध्यक्ष साहले भने ।
बैंकिङ पुजीँ झण्डै ८० खर्बभन्दा माथि पुगेको बताउँदै उनले भने, ‘जसको प्रमोटर सेयर बैंकर हो । त्यसको चार खर्ब वरिपरी त्यसको लगानी छ । तर होल कर्जाको झण्डै ७० प्रतिशत ति प्रमोटरहरुले चलाईरहेको रहेको स्थिति छ । भनेपछि जम्मा चार खर्ब लगानी गर्ने र ४० खर्बभन्दा बढी त्यो जनताको पैसा दोहन गर्ने यो भन्दा अत्याचार के हुन्छ ?’
बैंक तथा वित्तीय संस्था विस्तार हुँदै गएपछि क्रमशः आम नेपालीको वित्तीय पहुँच बढेको छ । बैंकहरूको कुल निक्षेप रजिस्टर्ड खाता ५ करोड ८३ लाख ९९ हजार ७ सय ८४ हाराहारीमा छ ।
रजिस्टर्ड निक्षेप खाता संख्या ५ करोडमाथि भए पनि सबै नियमित सञ्चालनमा भने छैनन् । बैंकमा एउटै व्यक्तिको ५–७ ओटा खाता खोल्ने प्रवृत्तिले जनसंख्याभन्दा धेरै देखिएको हो । कुल खातामध्ये ३ करोड ५३ लाख ७९ हजार खाता सक्रिय रूपमा सञ्चालित रहेको उल्लेख गर्दै सांसद साहले सेवाग्राहीले अपेक्षित सेवा लिन नसकिरहेको बताएका हुन् ।
जनताले बैंककमा बचत गर्न सक्ने तर, ऋण लिँदा अनेक झण्झट बेहोर्नुपर्ने अवस्था रहेको उनले बताए । ब्याज र सेवा शुल्कका नाममा बैंकले आफूखुसी निर्णय लिने गरेको समेत उनले बताए ।
एउटा बैंकको वालेटबाट अर्को वालेटमा पैसा ट्रान्सफर गर्दा झण्डै १२ रुपैया लाग्ने गरेको भन्दै उनले यस्तो कार्य बन्द गरिनुपर्ने माग समेत गरेका छन् । यस्तै बैंकबाट बिभिन्न कारणले पीडित भएकाहरुको उदार गर्न उनले सरकारको ध्यानाकर्षण गराए । बैंकहरुले मनोमानी रुपमा व्याज बढाएर लिएको पैसा पनि फिर्ता गराउनुपर्ने माग उनले गरे ।
टिप्पणीहरू: