सोमबार, ०८ भदौ २०८३

अमेरिकाका पूर्वउपराष्ट्रपति भन्छन्-युक्रेन युद्ध जित्दैछ


किएभ ।  अमेरिकाका पूर्वउपराष्ट्रपति माइक पेन्सले रुससँगको युद्धमा युक्रेनले अग्रता हासिल गरिरहेको दाबी गरेका छन् । उनले युक्रेनी सेनाले रुसी सेनालाई अग्रपङ्क्तिमा गतिरोधमा राखेको र ड्रोनको प्रभावकारी प्रयोगमार्फत आधुनिक युद्धको स्वरूप परिवर्तन गरेको बताएका छन् ।

राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग भेट गरेपछि सिएनएनसँग कुरा गर्दै पेन्सले निरन्तर रुसी आक्रमणका बीच पनि युक्रेनी सेना र जनताको दृढता कमजोर नभएको बताए । “युक्रेनले यो युद्ध जित्दैछ । अग्रपङ्क्तिमा युक्रेनी सेनाले रुससँग गतिरोधसम्म लडेको छ”, उनले भने ।

युक्रेनको स्वतन्त्रताको ३५औँ वार्षिकोत्सवका अवसरमा आयोजित राष्ट्रिय प्रार्थना समारोहमा सहभागी हुन पेन्स किएभ पुगेका थिए । उनले जेलेन्स्कीको नेतृत्वसँगै युक्रेनी सेना र सर्वसाधारणमा पनि युद्ध सामना गर्ने दृढ सङ्कल्प देखिएको बताए ।

पेन्सका अनुसार युक्रेनले ड्रोन युद्धको स्वरूप परिवर्तन गरेको छ । युक्रेनी सेनाले रुसी भूभागभित्र आक्रमण गर्नुका साथै कृष्ण सागरमा रुसी जहाजलाई समेत निशाना बनाएको उनले बताए । यसैबीच, किएभमा रुसी आक्रमणपछि भएको पछिल्लो हमलामा कम्तीमा १६ जनाको मृत्यु र एक सयभन्दा बढी घाइते भएको सिएनएनले जनाएको छ ।

रुसले पछिल्लो समय ब्यालिस्टिक क्षेप्यास्त्रको प्रयोग बढाएको बताउँदै पेन्सले युक्रेनलाई त्यस्ता आक्रमण रोक्न थप उन्नत इन्टरसेप्टर प्रणाली आवश्यक रहेको उल्लेख गरे । जाडो नजिकिँदै गर्दा रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण बढाउन सक्ने चेतावनी पनि उनले दिए ।

इरानसँग सम्बन्धित अमेरिकी सैन्य कारबाहीका कारण प्याट्रियट इन्टरसेप्टरको विश्वव्यापी अभाव भएको सिएनएनले जनाएको छ । अमेरिकाले इरानी आक्रमणबाट जोगिने क्रममा आफ्नो प्याट्रियट मिसाइल भण्डारको करिब आधा प्रयोग गरेको बताइएको छ । तर युक्रेनले इरान युद्धका कारण हतियार अभावको असर भोगिरहेको भन्ने धारणा पेन्सले अस्वीकार गरे ।

दक्षिण कोरियासँग रहेका उन्नत इन्टरसेप्टर प्रणाली अमेरिकाले मध्यपूर्व वा युक्रेनमा प्रयोग गर्न वा युरोपेली सहयोगीलाई उपलब्ध गराउन सक्ने उनले बताए । दक्षिण कोरियाका राष्ट्रपति लीका लागि अमेरिकालाई त्यस्ता प्रणाली उपलब्ध गराउने अवसर रहेको उनको भनाइ छ ।

रुसले सन् २०१४ मा क्रिमिया कब्जा गरेपछि सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्ण सैन्य आक्रमण सुरु गरेको थियो । त्यसयता युक्रेन हतियार, गोलाबारुद र आर्थिक सहयोगका लागि अमेरिका तथा युरोपेली मुलुकमा निर्भर रहँदै आएको छ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ