सोमबार, ०८ पुस २०८१

फैसलाको पूर्ण पाठ आएपछि अदालतमा उपस्थित हुन्छु : दिपक मनाङे


काठमाडौं, २३ कार्तिक । गण्डकी प्रदेश सभाका सांसद राजिव गुरुङ (दीपक मनाङ्गे)ले आफूविरुद्धको मुद्दाको पूर्णपाठ तयार भएपछि अदालतमा उपस्थित हुने बताएका छन् ।

व्यक्तिहत्याको प्रयास गरेको आरोपमा सर्वोच्च अदालतले उनलाई ५ वर्ष कैद सजाय गर्ने पुनरावेदन अदालत, पाटनको फैसला सदर गरेपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।

शुक्रबारको मितिमा एक विज्ञप्ति जारी गर्दै उनले सर्वोच्चबाट फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि मात्रै अदालतमा उपस्थित हुने जनाएका हुन् ।

‘(फैसला)पश्चात मेरा कानून व्यवसायीलाई फैसलाको नक्कल सार्न पठाएँ तर अदालतबाट फैसलाको संक्षिप्त पाठ तयार नभएको भन्ने जानकारी आयो’ उनले विज्ञप्तिमा लेखेका छन्, ‘सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा म स्वयम् उपस्थित हुने कुरा जानकारी गराउन चाहन्छु ।’

२०७४ सालमा भएको निर्वाचनमा मनाङ प्रदेशसभा २ बाट मनाङे निर्विरोध निर्वाचित भएका थिए । स्वतन्त्र उम्मेद्वारी दिएको मनाङेलाई नेकपा एमालेले समर्थन गरेको थियो । पृथ्वी सुब्बा गुरुङको मन्त्रीमण्डलमा उनी खेलकुद मन्त्री भएका थिए । त्यसपछि पनि विभिन्न गठबन्धन मार्फत उनी ६ पटक मन्त्री भएका छन् ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ