बिहिबार, ०८ माघ २०८२

चुनावमा पैसाको खेल हुन नदिन सबै चनाखो हुनुपर्छ : प्रधानमन्त्री


काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले पुरानाे मानसिकताले अब देश नचल्ने बताएकी छिन् ।

नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डल शुक्रबार बिहान भेटघाट गर्दै प्रधानमन्त्री कार्कीले अब पुरानो मानसिकताले अब देश नचल्ने भन्लै  अब नयाँ नै आउनुपर्ने बताइन्, 'युवा आउनुपर्छ र इमानदार आउनुपर्छ। युवाको भावनाअनुसार शासन चल्नुपर्छ।’ उनले भनिन् ।

उनले चुनावमा पैसाको खेल हुन नदिन पनि समुदायस्तरबाटै सबै चनाखो हुनुपर्ने धारणा राखिन् । ‘विगतमा पैसाको खेल भयो भन्ने गुनासो छ। भ्रष्टाचार अन्त्य गर्ने हो भने त्यसको सुरुवात चुनावबाटै हुनुपर्छ। मतदाता पनि यसमा चनाखो बन्नुपर्छ,’ प्रधानमन्त्रीको भनाइ थियो।

भेटका क्रममा तामाङ समुदायको जनसंख्या, संस्कृति, आर्थिक-सामाजिक अवस्था लगायत विषयमा चर्चा भएको थियो।

घेदुङले आउँदो माघ ५ गते सोनाम ल्होछारका अवसरमा काठमाडौँमा तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराउँदै उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भइदिन प्रधानमन्त्री कार्कीलाई अनुरोध गरेको छ।

साथै घेदुङका पदाधिकारीहरुले तामाङ समुदायको जनसंख्या ३० लाखभन्दा बढी भए पनि जनगणनामा भएको त्रुटिका कारण १७ लाख हाराहारी मात्र देखिएकोमा प्रधानमन्त्री ध्यानाकर्षणसमेत गराए ।

उनीहरुले प्रधानमन्त्री कार्कीलाई अहिलेको कठिन परिस्थिति सम्हाल्न आउनुभएकोमा धन्यवाद ज्ञापन गर्दै सफलताको कामना पनि गरे।
प्रधानमन्त्री कार्कीले अहिलेको अवस्थाको लोकतान्त्रिक निकासका लागि निर्वाचन एक मात्र विकल्प भएकाले समाजका सबै तह र तप्काबाट सहयोगको अपेक्षा गरेको बताइन् ।

‘मुलुक चुनावमा होमिएको छ। यो चुनाव सामान्य अवस्थाको चुनाव नभई मुलुकलाई निकास दिने र दिगो स्थिरतातिर लैजाने चुनाव हो,’ उनले भनिन् ‘भदौ २३ र २४ गतेलाई दिमागमा राखौँ। अब बारम्बार यो अवस्था दोहोरिनुहुँदैन। युवाको आकांक्षाअनुरुप हामी चल्नुपर्छ। तपाईँहरु पनि आउँदो चुनावमा नयाँ, युवा र इमानदार सांसद जिताएर संसदमा पठाउनुहोस्।'

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ