शनिबार, ३० चैत २०८१

एमालेमा यसरी हुँदैछ विद्या भण्डारीलाई अध्यक्ष बनाउने तयारी


काठमाडौं, ११ पुस ।  विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गर्दै पुनः ‘नेकपा’ ब्युँत्याउने गृहकार्य सुरु भएको छ । कम्युनिस्ट पार्टीलाई एकीकृत गर्नका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा सक्रिय बनाउन लागिएको छ ।

एमाले पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीलाई एमालेको आगामी महाधिवेशनबाट अध्यक्ष बनाउने तयारी सुरु भएको छ । भण्डारीलाई एमालेको अध्यक्ष बनाउने र विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीलाई एकीकृत गर्दै पुनः नेकपा ब्युँत्याउन लागिको हो । एमालेसहित नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), एमालेबाट विभाजन भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सहितका दललाई पुनः एकीकरण गर्नका लागि शीर्ष नेताहरू  लागेका छन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट हेपिएका, पेलिएका र अवसरबाट वञ्चित नेताहरू भण्डारीलाई अध्यक्ष बनाउने रणनीतिमा लागेका छन् ।

भण्डारीलाई अध्यक्ष बनाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एकठाउँमा ल्याउन सजिलो हुने बुझाइ उनीहरूको छ । भण्डारी अध्यक्ष भए पार्टी एकता गर्दै नेकपा ब्युँत्याउनका लागि प्रचण्ड, नेपालसहित झलनाथ खनाल, वामदेव गौतमलगायतका नेताहरूले ‘ग्रिन सिंग्नल’ दिइसकेको दाबी गरिएको छ ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिवसमेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका साथै नेताहरू गोकुल बाँस्कोटा, कर्ण थापा, शेरधन राई, विनोद ढकाल, डा. विमला राई पौड्याललगायतका नेताहरू अहिले भण्डारीलाई सक्रिय राजनीतिमा फर्किन जोडबल गरिरहेका छन् ।

नेताहरूले भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन खोजेपछि ओली निकट मानिने केही नेताले रोक्न खोजेका छन् । एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालसहितका नेताहरूले पटकपटक भण्डारीलाई भेटेर सक्रिय राजनीतिमा नफर्किन सुझाव दिँदै आएका छन् ।

भण्डारी स्वयंले पनि विभिन्न बहानामा पार्टी राजनीतिमा फर्किन सक्रियता देखाइरहेकी छन् । गत १० वैशाखमा नेकपाको ७५औं स्थापना दिवसमा एमालेले प्रदान गरेको ‘गणतन्त्र गौरव’ सम्मान थापेकी भण्डारी त्यसयता एमालेका विभिन्न भ्रातृ संगठनले आयोजना गरेका कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै आएकी छन् । 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ