- असार ०६, २०८०
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) पार्टीले १३ बुँदे आचार संहिता जारी गरेको छ ।
शुक्रबारदेखि सुरु भएको पार्टीकाे केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधव नेपालले १३ बुँदे आचार संहिता पेस गरेका हुन् ।
एकीकृत समाजवादीले पार्टीका नेता तथा कार्यकर्ताको आचरण र व्यवहार पार्टीले अँगालेको क्रन्तिकारी सिद्धान्तअनुरुप बनाउन भन्दै आचार संहिता जारी गरेकाे हाे ।
उक्त आचार संहिता पार्टीको केन्द्रीय कमिटीले पारित गरेको दिनदेखि प्रारम्भ हुनेछ ।
आचार संहितामा पार्टीका आन्तरिक छलफलमा हरेक सदस्यले स्वतन्त्रतापूर्वक पार्टीका हरेक विषयमा बोल्न र मत राख्न पाइने तर पार्टी निर्णयका विरुद्ध आफ्नो पार्टी कमिटीभन्दा बाहिर गएर बोल्न र मत राख्न नपाइने उल्लेख छ। त्यस्तै फरक मत वा धारणा भए पनि पार्टी निर्णयको अभज्ञा गर्न नपाइने आचार संहितामा भनिएकाे छ।
‘पार्टीका आन्तरिक छलफलमा हरेक सदस्यले स्वतन्त्रतापूर्वक पार्टीका हरेक विषयमा बोल्न र मत राख्न पाइन्छ तर पार्टी निर्णयका विरुद्ध आफ्नो पार्टी कमिटीभन्दा बाहिर गएर बोल्न र मत राख्न पाइदैन । आफ्नो फरक मत वा धारणा भए पनि पार्टी निर्णयको अभज्ञा गर्न पाइदैन। पार्टी निर्णय लागू गर्नु पर्दछ । अरुका विचारको सम्मान गर्नु पर्दछ। यही हो जनवाद र अनुशासनको सन्तुलन वा सीमा। यस सीमाभित्र रहनु सबैको कर्तव्य हो, यसलाई नाध्नु दण्डनीय हुन्छ’, आचारसंहितामा भनिएको छ ।
यसैगरी एकीकृत समाजवादीले परपुरुष-परस्वी शारीरिक सम्बन्ध राख्ने र विवाहपूर्व तथा वैवाहिक सम्बन्ध बाहिर शारीरिक सम्बन्ध राख्ने कार्य अनैतिक मानेकाे छ।
कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताले यस्तो अनैतिक कार्य गर्नु नहुने र महिलाप्रति एकनिष्ठताको व्यवहार गर्नुपर्ने आचार संहितामा उल्लेख गरिएकाे छ।
टिप्पणीहरू: