बुधबार, १४ असोज २०८३

भारतमा ककरोच जनता पार्टीले गर्याे ‘जेल भरो आन्दोलन’ घाेषणा


नयाँदिल्ली ।  भारतमा ककरोच जनता पार्टी (सीजेपी)ले नयाँ आन्दोलनको घोषणा गरेको छ । सीजेपीका संस्थापक अभिजीत दीपकेले सोमबार यसबारे जानकारी दिएका हुन् ।

अभिजीत दीपकेले एक्समा पोस्टर सार्वजनिक गर्दै अक्टोबर २ मा सीजेपीले मुम्बईस्थित शिवाजी पार्कमा ‘जेल भरो आन्दोलन’ गर्ने बताएका छन् ।

दीपकेले आफ्नो पोस्टमार्फत भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको मागलाई दोहोर्‍याएका छन् ।

सीजेपीले यसअघि नै ज्ञानेश कुमारले आफ्नो पदबाट राजीनामा नदिए अक्टोबर २ देखि आन्दोलन सुरु गर्ने घोषणा गरिसकेको थियो ।

यद्यपि, सीजेपीलाई मुम्बईमा आन्दोलन गर्न अनुमति दिइएको छैन ।

यस विषयमा प्रतिक्रिया दिँदै दीपकेले जनताको आवाज दबाउने यस्ता प्रयास स्वीकार्य नहुने बताएका थिए ।

त्यसाे त भारतको निर्वाचन आयोग (ईसीआई) भित्र प्रशासनिक र संवैधानिक अभ्यासलाई लिएर भएको द्वन्द्व सतहमा आएको छ। अक्टोबर २०२५ देखि सुरु भएको स्पेसल इन्टेन्सिभ रिभिजन (एसआईआर) अभियानमार्फत देशका ३० वटा राज्य तथा केन्द्र शासित प्रदेशहरूबाट १३ करोडभन्दा बढी मतदाताको नाम मस्यौदा सूचीबाट हटाइएपछि सिर्जित विवादका बीच आयोगका मुख्य अधिकारीहरूबीच नै गम्भीर मतभेद उजागर भएको हो।

द इन्डियन एक्सप्रेसकी पत्रकार रितिका चोडाले गरेको विशेष खोजी प्रतिवेदनअनुसार, तीन सदस्यीय निर्वाचन आयोगका दुई जना निर्वाचन आयुक्तहरू सुखबीर सिंह संधू र विवेक जोशीले आयोगका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैली र निर्णय प्रक्रियाप्रति लिखित आपत्ति दर्ज गराएका थिए ।

नोभेम्बर २०२५ देखि अगस्ट २०२६ को १० महिनाको अवधिमा कम्तीमा १४ पटक औपचारिक रूपमा लिखित आपत्ति दर्ता गराएका छन्। केही अवसरमा उनीहरूले एकै दिन चार पटकसम्म लिखित आपत्ति दर्ज गराएका थिए।

पछिल्ला घटनाक्रमहरुले सत्तारुढ भारतीय जनता पार्टीकाे राजनीतिक यात्रा अप्ठ्याराे माेडमा पुगेकाे टिका टिप्पणी सुरु भएकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ