आइतबार, ०२ कात्तिक २०८२

क्षमायाचनासहित राजीनामा दिएर स्वैच्छिक अवकाश लिन प्रमुख दलका नेतृत्वलाई नागरिक अगुवाकाे सुझाव


काठमाडाैं ।  नागरिक अगुवाहरूले प्रमुख दलका नेतृत्वलाई क्षमायाचनासहित राजीनामा दिएर स्वैच्छिक अवकाश लिन सुझाव दिएका छन् ।

‘यो केवल कुनै दल विशेषको औचित्य र भविष्यका लागि मात्रै होइन, लोकतन्त्र र दलीय प्रणालीको भविष्य तथा दल र दलको नेतृत्वलाई जनताप्रति उत्तरदायी बनाउन राजीनामा र स्वैच्छिक अवकाश अपरिहार्य भएको वास्तविकता पनि स्पष्ट पार्न चाहन्छौँ’, अपिलमा भनिएको छ ।  

कृष्ण खनाल, केदारभक्त माथेमा, केशव दाहाल,खगेन्द्र सङ्ग्रौला,गेजा शर्मा वाग्ले,चरण प्रसाईँ, झलक सुवेदी लगायत ३० जना नागरिक अगुवाले बुधबार संयुक्त अपिल जारी गर्दै यस्तो आग्रह गरेका हुन् । अगुवाले राजनीतिक दल र जेनजी समूहलाई विश्वासमा लिएर निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न विश्वसनीय वातावरण सिर्जना गर्न सरकारलाई अपिल गरेका हुन् ।

नागरिक अगुवाहरूले गम्भीर अपराधमा संलग्न जेलबाट भागेका कैदीबन्दी र अपराधीहरूले हत्या, चोरी, डकैती गर्न थालेपछि समाजमा भय र आतंकको वातावरण सिर्जना भएकाले सुरक्षा निकायको मनोबल उच्च बनाई आवश्यक साधन–स्रोत व्यवस्थापन गरी अविलम्ब शान्ति–सुव्यवस्था बहाल गर्न सरकारको ध्यान आकर्षण गराएका छन् ।

उनीहरूले राजनीतिक दलहरूलाई पनि निर्वाचनमा सहभागी हुन अपिल गरेका छन् । ‘नेपालको संविधानअनुसार यदि छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन नभएको अवस्थामा अर्को गम्भीर राजनीतिक तथा संवैधानिक संकट सिर्जना हुने वास्तविकताप्रति दलहरूको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छौँ’, उनीहरुले अपिलमा भनेका छन् ।

नागरिक अगुवाहरुले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलको मूल नेतृत्व (सभापति/अध्यक्ष) ले हालसम्मको अवस्थाको नैतिक जिम्मेवारी लिँदै क्षमायाचनासहित राजीनामा दिएर स्वैच्छिक अवकाश लिनुपर्ने सुझाव दिएका छन् ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ