बुधबार, २४ मंसिर २०८२

अध्यक्ष ओली आयोगमा बयान दिन जानुपर्छ, अवज्ञा गर्नु राम्रो हाेइन: ईश्वर पोखरेल


काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भदाै २३ र २४ गतेकाे घटनामा जाँचबुझ आयोगले बोलाउँदा पार्टी अध्यक्ष केपी शर्मा ओली बयान दिन जानुपर्ने बताएका छन्।

बुधबार सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्ने क्रममा पोखरेलले आयोगले बयानका लागि बोलाउँदा अध्यक्ष ओलीले अवज्ञा गर्न नहुने बताए।

‘सरकारले बनाएको आयोग, हाम्रा कतिपय कुराहरू, हाम्रा कमेन्ट, रिजर्भेसेनका कुरा केही होलान्। तर त्याे आयोगमा बयान दिन जाने कुरा स्वभाविक हो। हामीले जानुपर्छ। म चाहिँ भए अझै अगाडि नै गएर बयान दिन्थेँ। किनभने त्यसप्रति अवज्ञा गर्ने कुराले राम्रो गर्दैन’, उनले भने।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जाँचबुझ आयोगका अध्यक्षको भूमिकामाथि प्रश्न उठाउने ठाउँ भए पनि आफ्ना तथ्यहरू प्रस्तुत गर्न जानुपर्नेमा जाेड दिए।

’आयोगको अध्यक्ष जसलाई बनाइयो, उहाँले २३ र २४ गतेकाे घटनालगत्तै जसरी सामाजिक सञ्जालमा आफूलाई एउटा मान्यताको आधारमा उभ्याउनुभयो, अब तीनै व्यक्ति आयोगका अध्यक्ष हुँदा निष्पक्ष कसरी हाेला भन्ने प्रश्न हो यो,’ उनले भने, ’तर, आयोगमा बयान दिन जाने, भन्न जाने, विचार, तथ्यहरू प्रस्तुत गर्न जाने कुरालाई अन्यथा लिन हुँदैन। हाम्रो अध्यक्ष पनि जानुहुन्छ भन्ने मलाई लाग्छ।’

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ