- असार ०६, २०८०
कीर्तिपुर (काठमाडौँ) । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका कागहरूमा बर्डफ्लु सङ्क्रमित भएको पुष्टि भएको छ । कीर्तिपुर नगरपालिका तथा पशु स्वास्थ्य विभागको संयुक्त टोलीले त्रिवि परिसरमा मृत फेला परेका ६८ वटा काग सङ्कलन गरी आज पुरेको छ ।
“त्यहाँ अझै मरेका काग भेटिएका छन्, मरेका सबै काग आज सङ्कलन गर्न नसकिएकाले भोलि पनि काम जारी राख्ने छौँ”, रासससँग कुरा गर्दै नगरपालिकाकी पशुसेवा प्रमुख सुशीला गैरेले भने । उनका अनुसार शाखामा एक साताअघि स्थानीय व्यक्तिले त्रिविको वीरेन्द्र राज्याभिषेक उद्यानमा कागहरू मरेको खबर गरेका थिए ।
प्रमुख गैरेका अनुसार परीक्षणका लागि १० वटा मृत काग पशुसेवा विभागको प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालामा परीक्षण गरेपछि ती कागमा बर्डफ्लु पुष्टि भएको हो । त्यसपछि नगरपालिका र पशुसेवा विभागका टोलीले हिजाे मरेका काग सङ्कलन गर्ने निर्णय गरेको थियो । साथै सोही स्थानमा अन्य पंक्षी मृत भेटिएमा सोको नमूना सङ्कलन गर्न निर्देशन पनि टोलीलाई दिइएको थियो । सोहीअनुसार आज अपराह्न ३ बजेदेखि मृत काग सङ्कलन गर्न थालिएको थियो । सङ्कलन गरिएका ६४ वटा काग खाल्डो खनी गाडिएको छ ।
उद्यानमा अन्य चरा भने त्यसरी मरेको नभेटिएको प्रमुख गैरेले बताए । “खुला स्थानमा जताततै उड्ने पंक्षी भएकाले कुखुरामा देखिने बर्डफ्लुभन्दा यसको नियन्त्रण जटिल हुन्छ”, उनले भने । उनका अनुसार कीर्तिपुर नगरपालिका क्षेत्रमा कुखुराका दाना ओसारपसार नगर्न सार्वजनिक सूचनासमेत जारी गरेको छ ।
यसबारेमा रासससँग कुरा गर्दै पशुसेवा विभागका वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्यायले मृत कागमा एचफाइ एन वान र एच नाइन गरी दुवै खालको बर्डफ्लु भाइरस देखिएको जानकारी दिए । डुलुवा पंक्षीमापर्ने कागमा फिरन्ते चराबाट बर्डफ्लु सङ्क्रमण भएको हुनसक्ने उनको अनुमान छ । केही वर्षअघि राजधानीस्थित बेलायती राजदूतावास परिसरमा पनि यसै गरेर कागमा सङ्क्रमण देखिएको जानकारी पनि उनले दिए।
यस्तो समस्या विभिन्न समयमा देखिने बताउँदै उपाध्यायले त्यसले अरु चरालाई सार्ने जोखिम पनि उत्तिकै रहेको समेत बताए। “त्यसैले कुखुरा, बटाई वा कालिजपालक किसानलाई जङ्गली चराचुरुङ्गी, कुकुर वा बिराला जान नसक्ने गरी खोरको व्यवस्थापन गर्न तथा खुल्ला ढङ्गले चराचुरुङ्गी नपाल्न आग्रह गरिएको छ”, उनको भनाइ छ ।
सङ्क्रमण भयो भन्दैमा अन्यत्रका पनि कागलाई खोजी खोजी मार्ने जस्ता काम भने गर्न नहुने भनाइ उनको छ । साथै मरेका कुखुरा बङ्गुरलाई खुवाउने वा कुन स्रोतबाट आएको भन्ने थाहा नभइ सस्तो पाएकै भरमा कुखुराको मासु उपभोग नगर्न पनि उनले आग्रह गरे ।
टिप्पणीहरू: