मङ्गलबार, १६ वैशाख २०८२

सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको छ: प्रचण्ड


बर्दिया । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको र आयोग गठन प्रक्रिया अघि बढेको बताएका छन् ।

जनताको माओवादी तराई मधेस जनजागर अभियानअन्तर्गत साेमबार बर्दियाको राजापुर नगरपालिका–४ मा सहिद तथा बेपत्ता परिवारसँगकाे छलफल क्रममा यस्ताे बताएका हुन् ।

“आयोग बनेपछि सहिद तथा बेपत्ता परिवारका नाममा पार्क बनाइने, प्रमाणपत्र वितरण गरिने र कम्तीमा एक जना सदस्यलाई रोजगारी दिने व्यवस्था सुनिश्चित गरिएको छ। साथै, सार्वजनिक यातायातमा छुटसहित गणतन्त्र सेनानीका रूपमा सम्मान दिने व्यवस्था पनि विधेयकमा समावेश गरिने छ”, उनले भने ।

बर्दिया राज्यद्वारा सबैभन्दा बढी व्यक्तिहरू बेपत्ता पारिएको जिल्ला भएको अध्यक्ष प्रचण्डले स्मरण गराए । भने, ´संयुक्त राष्ट्रसंघको रेकर्डअनुसार समेत बर्दियामा सबैभन्दा बढी बेपत्ता घटना भएका छन् ।'

अध्यक्ष प्रचण्डले सबै सहिद तथा बेपत्ता परिवारलाई पार्टीको विचार, नीति र मार्गनिर्देशनको पक्षमा दृढ रहन आग्रह गरे । 

अन्तरक्रियामा सहभागीहरूले जनयुद्धको ऐतिहासिक सन्दर्भ, आफ्ना संघर्षका कथा लेखेर शैक्षिक पाठ्यक्रममा समेट्नुपर्ने, जीविकोपार्जन, बालबच्चाको पालनपोषण, शिक्षा र रोजगारीका समस्याहरू समाधान गर्न आग्रह गरे ।

गुनासाहरू सुनेपछि अध्यक्ष प्रचण्डले सम्बोधन गर्दै भने, “पार्टीले वर्गीय र सहिद,  बेपत्ता परिवारसँग सम्बन्ध सुधार गर्न देशभर अभियान चलाइरहेको छ। हामी सकेसम्म सहिद तथा बेपत्ता परिवारका घरमै बसी दुखसुख साट्दै आएका छौँ।”

सााथै उनले जनयुद्धलाई राष्ट्रिय दिवसको रूपमा घोषणा गरेको प्रसंग स्मरण गर्दै भने, “शान्ति प्रक्रिया नसकिन्जेल अदालतको आदेशका कारण रोकिएको भए पनि पार्टी जनयुद्धलाई राष्ट्रिय दिवसका रूपमा मनाउने पक्षमा अडिग छ।”

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ