शुक्रबार, ०५ मंसिर २०८२

बिहारकाे विधानसभा चुनाव: नितिश कुमार फेरि सत्ताकै यात्रामा


फाइल तस्बिर

नयाँदिल्ली। सन् २०२५ को बिहार विधानसभा चुनाव मुख्यमन्त्री नितिश कुमारको दुई दशकभन्दा बढी लामो राजनीतिक यात्राका लागि महत्त्वपूर्ण लिटमस टेस्टका रूपमा प्रस्तुत भएको छ।

विगत २० वर्षयता प्रत्येक चुनावमा राज्यको राजनीतिक धारलाई आफ्नो नेतृत्व वरिपरि केन्द्रित राख्न सफल नितिश कुमार यसपटक पनि विकास र समावेशी शासनका आधारमा मतदाताको विश्वास जित्न सफल देखिएका छन्।

विपक्षीहरूले प्रायः उनलाई ‘पल्टु राम’ भनेर आरोप लगाए पनि नितिश कुमारले आफ्ना वाचा पूरा गर्दै ग्रामीण पूर्वाधार सुधार, प्रत्यक्ष वित्तीय सहयोग तथा सामाजिक सुरक्षा योजनामार्फत मजबुत जनआधार कायम राखेका छन्। स्थिर प्रगति, मूर्त विकास र जिम्मेवार नेतृत्वका कारण मतदाताले उनीप्रति निरन्तर विश्वास राख्दै आएका छन्।

विधवा, वृद्ध तथा अपाङ्गता भएका नागरिकका लागि पेन्सन, विद्यालयका रात्रिकालीन गार्ड र पिटी शिक्षकको तलब दोब्बर, करिब एक करोड महिलालाई १० हजार रुपैयाँ सहयोग जस्ता हालैका योजनाहरूले जनमानसमा सकारात्मक छाप छोडेको छ। यसले उच्च जाति, कुशवाहा, पासवान, मुसहर, मल्लाहदेखि मुस्लिम समुदायसम्म तह–तहमा समर्थन विस्तार गर्न सहयोग गरेको छ।

विकास–केन्द्रित शासनशैली, शिक्षा–स्वास्थ्यमा सुधारका ठोस परिणाम, सीमान्तकृत वर्गप्रति निरन्तर पहुँच र बदलिँदो राजनीतिक परिस्थितिमा अनुकूलन गर्ने क्षमता उनको दीर्घकालीन लोकप्रियताका मुख्य आधार बनेका छन्।

यही कारण प्रारम्भिक चुनावी नतिजाले पनि एनडिएलाई सशक्त प्रदर्शनतर्फ देखाएको छ। बिहान ११ बजेसम्म जेडियु ७७ सिटमा अगाडि रहँदा एनडिए गठबन्धन १८० सिटभन्दा बढीमा अग्रता हासिल गर्दै स्पष्ट बहुमतको सङ्केत दिइरहेको थियो। सन् २०२० को तुलनामा जेडियुले ३४ सिटको अग्रताले ‘२५ से ३०, फिर से नितिश’ भन्ने नारा केवल प्रचारमै सीमित नभएको पुष्टि गरिदिएको छ।

यसपटक ६७.१३ प्रतिशत ऐतिहासिक मतदान भएको छ। यसलाई विश्लेषकहरूले सत्ता विरोधी भावनाभन्दा प्रतिस्पर्धात्मक उत्साहको परिणाम ठानेका छन्। मुस्लिमसहित परम्परागत रूपमा एनडिएप्रति अरुचि देखाउने समुदायहरूले समेत विकासमुखी योजनाका कारण नितिश कुमारमाथि विश्वास कायम राखेको देखिन्छ।

राजनीतिक यात्राको सुरुदेखि नै उनी समावेशी सोच र पिछडिएको वर्गको आवाज बनेका हुन्। जेपी आन्दोलनमा सक्रिय भूमिका, जनता पार्टी हुँदै राज्य–केन्द्र दुवै सरकारका जिम्मेवारी तथा रेलमन्त्रीका रूपमा वरिष्ठ नागरिक र अशक्त यात्रुका सुविधामा सुधारजस्ता ‘सामाजिक उत्तरदायित्व’ आधारित निर्णयहरूले उनलाई राष्ट्रिय स्तरमै पहिचान दिलाएको थियो।

सन् २००० मा मात्र सात दिन टिकेको पहिलो मुख्यमन्त्री कार्यकालबाट सुरु भएको चुनौतीपूर्ण अध्याय नितिश कुमारको राजनीतिक मोड बन्न पुगेको थियो। सन् २००५ पछि निरन्तर नेतृत्व सम्हाल्दै उनी आज बिहार इतिहासको सबैभन्दा दीर्घकालीन मुख्यमन्त्रीमध्ये उभिएका छन्।

पुनः निर्वाचित भएमा उनी सिक्किमका पवन चामलिङ, ओडिसाका नवीन पटनायक र पश्चिम बङ्गालका ज्योति बसुजस्ता दिग्गज नेताहरूको सूचीमा प्रवेश गर्नेछन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ