- असार ०६, २०८०
धनगढी । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले केपी शर्मा ओली विनाको एमाले कल्पना पनि गर्न नसकिने बताएका छन् ।
प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश बैठक तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार कञ्चनपुरमा सम्बोधन गर्दै प्रमुख ढकालले एमालेले आफूलाई देशको प्रमुख शक्तिका रुपमा ओलीकै कार्यकालमा स्थापित गरेकाले केहि समयका लागि ओली बिनाको एमालेको कल्पना कसैले नगर्न आग्रह गरे।
जनताको बहुदलीय जनवाद अनुसार तीनै तहका सरकारलाई लोककल्याणकारी बनाउन र समेद्ध नेपाल सुखी नेपालीको दीर्घकालीन लक्ष्यलाई पुरा गर्न एक पटक ओलीका नेतृत्व एमालेका लागि अपरिहार्य भएको उल्लेख गरेका नेता ढकालले भने, ‘केपी ओली बिनाको एमाले बनाउँ भन्न पाइन्छ, म बन्छु, ओली भन्दा राम्रो चलाउँछु भन्न पनि पाइन्छ, तर भन्ने कुरा ठाउँमा भन्नु पर्छ, कुठाउँमा भन्नु भएन । दुई कार्यकाल र ७० वर्षको उमेर हदबन्दी ओलीका लागि मात्र गरिएको होइन, सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीको सोच–बिचारपछि गरिएको निर्णय हो ।’ उनले महाधिवेशनमा प्रतिष्पर्धा गर्न योग्य सबैलाई अधिकार भए पनि पार्टी विधान विपरित हल्ला गर्नु गलत र गैरजिम्मेवार भएको टिप्पणी गरे ।
टिप्पणीहरू: