बिहिबार, १९ चैत २०८२

देशमा भएका सबै भ्रष्टाचारका फाइल खोलिनुपर्छ: सांसद शाही


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारलाई जनताप्रति उत्तरदायी बन्न र विधिको शासन प्रभावकारी रूपमा लागू गर्न आग्रह गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा उनले सरकार जनताप्रति उत्तरदायि बनेर मुलुकको समृद्धिमा अगाडि बढ्न सुझाव दिए।

सांसद शाहीले भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य छानबिन गर्नुपर्नेमा जोड दिए।

प्रजातान्त्रिक मूल्य र मान्यतामा आधारित शासन सञ्चालन हुनुपर्ने उल्लेख गर्दै उनले जनताको आशा र भरोसाको दियो निभ्न नदिई त्यसलाई अझ मजबुत बनाउनुपर्ने बताए।

‘नेपालमा धेरै पटक व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था अपेक्षाअनुसार परिवर्तन हुन सकेको छैन’, शाहीले भने, ‘देशमा भएका सबै भ्रष्टाचारका फाइल खोलिनुपर्ने र पछिल्लो समय दल परिवर्तन मात्र नभई पुस्ता परिवर्तनसमेत भएकाले सोहीअनुसार काम हुनुपर्छ।’

उनले निर्मला पन्त र इनिशा विकजस्ता घटनाका पीडितले समयमै न्याय पाउनुपर्नेमा जोड दिए। शाहीले युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याए।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का सदस्यलाई नागरिकता उपलब्ध गराउनुपर्ने माग गर्दै सांसद शाहीले सुशासन र विधिको शासन कायम गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताए।

अन्य क्षेत्रमा आधुनिक पूर्वाधार विकासका कार्यक्रम लागू भइरहे पनि कर्णाली प्रदेशमा अपेक्षित विकास पुग्न नसकेको उल्लेख गर्दै उनले सरकारलाई आफ्नो दायित्व पूरा गर्न आग्रह गरे। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ