- भदौ ०१, २०८१
फाइल तस्बिर
ढाका। बङ्गलादेशमा अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालमा भएका जबर्जस्ती अपहरणका घटनामा कम्तीमा २८७ जनाको मृत्यु भएको आशङ्का गरिएको छ।
सरकारद्वारा गठित एक अनुसन्धान आयोगले एक हजार ५६९ अपहरण घटनाको छानबिन गर्दा तीमध्ये २८७ जना मृत मानिएको जनाएको हो।
आयोगका अनुसार मृतकहरूको शव ढाकाको बुरिगङ्गा नदीलगायत विभिन्न नदीमा फ्याँकिएको तथा सामूहिक चिहानमा गाडिएको हुन सक्ने अनुमान गरिएको छ। विभिन्न स्थानमा चिन्ह नलगाइएका चिहानहरू फेला परेको आयोगले जनाएको छ।
आयोगको अन्तिम प्रतिवेदनमा सुरक्षा निकायहरूले शेख हसिना र उहाँका शीर्ष अधिकारीहरूको निर्देशनमा काम गरेको उल्लेख छ।
अपहरणमा परेकामध्ये धेरैजसो हसिनाविरुद्ध रहेका जमात–ए–इस्लामी र बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का सदस्य रहेको प्रतिवेदनले जनाएको छ।
संयुक्त राष्ट्रसङ्घका अनुसार सत्ता जोगाउन गरिएको दमनका क्रममा करिब एक हजार ४०० जनाको ज्यान गएको थियो। शेख हसिनालाई मानवताविरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएको छ।
टिप्पणीहरू: