बुधबार, २५ असार २०८२

रसुवा बाढी : भारी वर्षा हाेइन, हिमताल फुटेकाे हुन सक्छ


काठमाडौँ । चीन तथा नेपालको उच्च हिमाली क्षेत्रमा अझै पनि बादल रहिरहेका कारणले रसुवामा आएको भोटेकोसी बाढीका कारण पत्ता लगाउन समस्या देखिएको छ । जल तथा मौसम विज्ञान विभागले बादलका कारण भू–उपग्रहको सहायताबाट तस्बिर लिन खोज्दा स्पष्ट नभएकाले बाढीका कारण पत्ता लगाउन नसकिएको बताएको छ ।

विभागका अनुसार नेपाल र चीनको भू–भागमा भारी वर्षा नभए पनि रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको हो । सोमबारदेखि मङ्गलबार २४ घण्टाको अवधिमा नेपाल–चीन सीमाबाट नजिकमा रहेको रसुवास्थित क्याञ्जिङ मौसमी केन्द्र र रसुवास्थित धुञ्चे मौसमी केन्द्रमा फाट्टफुट्ट मात्र वर्षा मापन भएको विभागले जानकारी दिएको छ । 

 विभागका बाढीविद् विनोद पराजुलीले चीन तथा नेपालको भू–भागमा रहेको कुनै पनि हिमताल फुटेको हुनसक्ने वा हिउँको ढिक्का खोलामा बसेर थुनिएको र पछि फुटेको हुनसक्ने आशङ्का रहेको बताए । “भारी वर्षाका कारण बाढी गएको होइन भन्ने पत्ता लाग्यो । अब चाहिँ के कारण गएको भनेर हामीले अध्यायन गरिरहेका छौँ”, उनले भने “कार्यस्थलमा नै तत्काल गएर अध्ययन गर्न सम्भव नभए पनि भू–उपग्रहको सहायताबाट कारण थाहा पाउन सकिन्थ्यो । तर बादलका कारण अझै समस्या देखिएको छ ।”

अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले पनि बादलका कारण उपग्रह विश्लेषणमा अवरोध पुगेको जनाएको छ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ