- असार ०६, २०८०
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा एउटा ‘गम्भीर ठट्टा’ गरेका छन्।
‘लोकतन्त्र र जनअभिमत–नेपालको निर्वाचन इतिहास’ पुस्तकको लोकार्पण कार्यक्रममा प्रमुख अतिथिको हैसियतमा सहभागी प्रधानमन्त्री ओलीले पहिलो पटक २०४८ सालमा चुनाव लड्दा २९ हजार मात्रै खर्च भएको दाबी गरे।
पुस्तक विमोचन कार्यक्रममा सहभागी वक्ताहरुले निर्वाचन प्रणाली महंगो हुँदै गएको कालो धनलाई सेता बनाउने काम निर्वाचनमार्फत गरिएको तर्कमा असहमति जनाउँदै प्रधानमन्त्री ओलीले भने, ‘निर्वाचनको बारेमा विद्वान मित्रहरूले भनेको कुरामा एकाध ठाउँमा च्यालेन्ज गर्न मन लाग्यो। म आफैं निर्वाचन लडेर आएको छु। मेरो निर्वाचन ०४८ सालमा ४३ हजार रुपैयाँ साथीहरूले चन्दा उठाएका थिए। २१ हजार निर्वाचनमा खर्च भयो। बसको छतमा बसेर हिँड्दा साथीहरू खसे। दुई जनाको उपचार गर्दा १२ हजार खर्च भयो। १० हजार रुपैयाँ चुनावपछि बचत रह्यो पार्टीकै कोषमा।’
त्यो चुनाव हुने बेलामा माधवकुमार नेपालले खर्चस्वरुप आफूलाई २ सय रुपैयाँ दिएको प्रधानमन्त्री ओलीको भनाई थियो।
उनले भने, ‘चुनावमा हाम्रो पार्टीको महासचिव माधवकुमार नेपाल हुनुहुन्थ्यो। उहाँले बाटो खर्च भनेर २ सय दिनुभएको थियो। चुनावमा जाँदा १ सय ८० रुपैयाँ बस भाडा र बीचमा खाना खानका लागि २० रुपैयाँ।’ जबकी ०४८ सालमा पार्टीका महासचिव मदन भण्डारी थिए। माधव नेपाल पोलिटब्युरो सदस्य मात्रै थिए।
नेपालको निर्वाचन प्रणाली महंगो भएको विषयमा चौतर्फी आलोचना हुने गरेको छ। अरुका कुरा छाडौं, स्वयं प्रधानमन्त्री ओलीले पनि निर्वाचन प्रणाली महंगो भएको स्विकारिसकेका छन्।
नेपाली कांग्रेससँगको सहकार्यमा सरकार बन्ने बेलामा प्रधानमन्त्री ओलीसमेतले संविधान संशाेधनमार्फत निर्वाचन प्रणाली परिमार्जन गर्नुपर्ने अभिव्यक्ति दिएका थिए।
पछिल्लो समय नेपालको निर्वाचन प्रणाली वास्तवमै महंगो भएको छ। टिकट पाएपछि चुनाव जित्न मात्रै होइन, मातहतको नेतृत्वलाई आर्थिक ‘नजराना’ नटक्रयाई टिकटै नपाउने स्थिति छ।
निर्वाचन शीर्षकमा राजनीतिक दलहरुभित्र मौलाएको बेथितिबारे कुरा उठेपछि रुष्ट भएका प्रधानमन्त्री ओलीले ड्यासमा बसेकाहरुलाई ‘साइजमा ल्याउन’ भन्दै निर्वाचनका विषयमा खर्चको झुटो विवरणको फेहरिस्त प्रस्तुत गरिरहँदा पार्टीका महासचिव को थिए भन्ने पनि पत्तो पाएनन्।
अर्को कुरा मन नपरेको मान्छेलाई भित्तैमा पु-याउने ओलीको बानी पनि छ। विद्या भण्डारी एमाले राजनीतिमा सक्रिय हुन लागेको चर्चा चल्दै गर्दा मदन भण्डारी सहकारी ठगीमा संलग्न भएको र उनको चार वटा श्रीमती भएको अभिव्यक्ति दिएका ओलीलाई मदन भण्डारीको नाम लिन मन नलागेर पनि हुन सक्छ माधव नेपाललाई ०४८ सालकै महासचिव बनाइदिए।
टिप्पणीहरू: