- भदौ १२, २०८१
रत्ननगर । लेखक कमल अर्यालको `सिलायात्रा´ सार्वजनिक भएको छ । चितवनका ऐतिहासिक तथा धार्मिक क्षेत्रबारेमा सङ्कलन गरिएका ११ वटा लेख यस सङ्ग्रहमा छन् । लेखक अर्यालका अनुसार चितवनका ऐतिहासिक महत्त्वका क्षेत्रहरूको अनुसन्धानमूलक सामग्री सिलायात्रामा समावेश छन् । यो पुस्तक तथ्य, इतिहास र भावनाको सिलाखोज भएको पनि उनले बताए ।
लेखक अर्यालका मातापितासहित वाल्मीकि साहित्य सदनका अध्यक्ष रामबाबु घिमिरे, प्रमुख अतिथि केदारनाथ खनाल, चितवन साहित्य परिषद्का अध्यक्ष जगन्नाथ पण्डित, समीक्षक कपिल अज्ञात र उदय अधिकारीले कृति विमोचन गरेका हुन् ।
कृतिका विषयमा बोल्दै समीक्षक कपिल अज्ञातले सिलायात्रा खोजमुलक कृति भएको बताए । `लेखक अर्यालले खोज अनुसन्धान गरेर अझ भनौँ सिला खोजेर विशेषगरी चितवनको पूर्वी क्षेत्रका ऐतिहासिक, धार्मिक एवम् पुरातात्त्विक सामग्रीलाई संकलन गर्नुभएको छ´ अज्ञातले भने – `अर्यालको गद्य लेखन राम्रो देखिएको छ । सिलायात्राले उहाँको साहित्यिक यात्रालाई सहज बनाएको छ ।´
कार्यक्रममा तिलकराज शर्माले स्वागत मन्तव्य राखेका थिए । त्यसैगरी उदय अधिकारी र चेतराज रेग्मीले पनि कृतिको समीक्षात्मक टिप्पणी गरेका थिए ।
कार्यक्रममा जगन्नाथ पण्डित, रामेश्वर रिजाल, टिएन अर्यालले शुभकामना मन्तव्य राखेका थिए । राजेन्द्र घायल, यमुना अधिकारी न्याैपाने, समिता पाैडेल न्याैपाने, प्रेम कँडेल, अशोक भुसाललगायतका कवि तथा गजलकारहरुले रचना वाचन गरेका थिए ।
`तिमी आउनु अघि´, `तिमी आएपछि´ र `लौरो´ गरी तीनवटा गजलसङ्ग्रह साथै `उत्तरकी अप्सरा´ यात्रासंस्मरण प्रकाशन गरेका अर्यालको `सिलायात्रा´ पाँचौँ कृति हो । चितवनका ऐतिहासिक, धार्मिक एवम् पुरातात्त्विक वस्तुको सिला खोजेर अनुसन्धानपरक कृतिका रूपमा सिलायात्रा तयार गरेको लेखक अर्यालले बताए । रत्ननगर वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेको कृतिको मूल्य ४२५ रुपैयाँ रहेकाे छ ।
टिप्पणीहरू: