- असार ०६, २०८०
फाइल तस्बिर
काठमाडौं। गृहमन्त्री रमेश लेखकले द्वन्द्वकाे व्यवस्थापन भनेकाे सम्झौता पनि भएको बताएका छन्।
आइतबार काठमाडौंमा आयाेजित नेपालमा शान्ति निर्माणका चुनाैती विषयक उद्घाटन समारोहमा उनले यस्तो बताएका हुन्।
‘द्वन्द्वकाे प्रकृति फरक छ। जहाँ द्वन्द्वकाे छ, त्यहाँ समाधान पनि छ। हामीले ठीक ढंगले बुझ्दिनुपर्छ। द्वन्द्वकाे व्यवस्थापन भनेकाे सम्झौता पनि हाे। दुवै पक्षले आफ्नो अडान कायम राखे द्वन्द्व व्यवस्थापन हुँदैन। द्वन्द्वरत पक्षका बीचमा सम्झौता भएर संविधान बनेकाे हाे’, उनले भने।
द्वन्द्वकाे रुप परिवर्तन भए पनि द्वन्द्व कायम रहेको गृहमन्त्री लेखकको भनाइ छ।
‘द्वन्द्व सकारात्मक र नकारात्मक दुईथरीकै हुन्छन्। सकारात्मक द्वन्द्वकाे व्यवस्थापन गर्दा देशले विकास हुन्छ भने नकारात्मक द्वन्द्वले देशमा दुर्गति निम्त्याउँछ। द्वन्द्व व्यवस्थापनमा, द्वन्द्वकाे पहिचान, समय र सम्झौता मुख्य कुरा हाे’, उनले भने।
देशमा उत्पन्न द्वन्द्व र अस्थिरताले धेरै संविधान बन्ने अवस्था सिर्जना हुने गरेकाे गृहमन्त्री लेखकले स्मरण गरे।
‘अहिलेसम्म नेपालमा सात वटा संविधान बने। धेरै संविधान बन्ने कुरा राम्रो हाेइन। धेरै सडक, पुल, विद्यालय, अस्पताल बन्ने कुरा राम्रो हाे’, उनले भने।
वर्तमान संविधान असफल भयाे भने देशमा अकल्पनीय द्वन्द्व हुने गृहमन्त्री लेखककाे भनाइ छ। ‘केही मान्छे संविधान असफल बनाउने षड्यन्त्र गरिराख्नुभएकाे छ। संविधानलाई समय सापेक्ष संशोधन र संविधानकाे रक्षा आवश्यक छ, ’ उनले भने।
यस्तै संविधानले गरेकाे अधिकारकाे बाँडफाँडले द्वन्द्व उत्पन्न गराइरहेकाे भन्दै त्यसकाे व्यवस्थापन आवश्यक रहेकाे गृहमन्त्री लेखकले बताए।
‘अहिले पालिकामा प्राकृति स्राेत साधानकाे वितरण र सीमाकाे द्वन्द्व छ। यसकाे पनि व्यवस्थापन गर्नु विश्व विद्यालयले गर्न सक्छ। द्वन्द्वका धेरै पाटा छन्। उत्पन्न द्वन्द्व र सम्भावित द्वन्द्वकाे व्यवस्थापन गर्नुपर्छ,’ उनले भने।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट द्वन्द्व व्यवस्थापनकाे विषय अध्यापन गर्नेहरु बढेको भन्दै त्रिभुवन विश्वविद्यालयले छात्रवृत्तिकाे काेटा बढाउन आफूले पहल गर्ने गृहमन्त्री लेखकले बताए।
टिप्पणीहरू: