आइतबार, ०८ भदौ २०८२

युवा संघ नेपालका सहसंयोजक सञ्जीव राई ६ महिनाका लागि निलम्बन


काठमाडौं। युवा संघ नेपाल केन्द्रीय अनुशासन आयोगले सह–संयोजक सञ्जीव राईलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ।

आयोगका अनुसार गत २०८२ साउन ३ गते भित्र स्पष्टीकरण पेस गर्न भनिए पनि राईले लेखित जवाफ पेस नगरी संगठनविपरीत गतिविधि जारी राखेका थिए।

विशेषगरी उनले सामाजिक सञ्जालमार्फत संगठन विरोधी प्रचार–प्रसार गरेको, समानान्तर समिति गठन गरेर आन्तरिक जीवनलाई प्रभावित पारेको र संघको एकता तथा अनुशासनमा गम्भीर आघात पुर्‍याएको आयोगले जनाएको छ।

संगठनका इन्चार्ज कमरेड लक्ष्मण केसीको सिफारिसमा बनेको नयाँ राष्ट्रिय महाधिवेशन आयोजन समिति गठन भएपश्चात राईले समानान्तर समिति बनाएको आरोप लागेको हो।

संघको विधान २०७८ को धारा १६ (घ) अनुसार, आयोगले राईलाई साधारण सदस्यतासमेत नदिई ६ महिनाको लागि निलम्बन गर्ने निर्णय लिएको छ।

यस विषयमा आयोगका अध्यक्ष विकल केसीले ‘अनुशासन विपरीतका कार्यलाई संगठनले गम्भीरतापूर्वक लिएको छ’ भन्दै आगामी दिनमा यस्ता गतिविधि सहन नसक्ने चेतावनीसमेत दिएका छन्।

त्यसैगरी यता संस्थापन पक्ष भने राईलाई समानान्तर कमिटी बनाउन झलनाथ खनालले निर्देशन दिएको र आफ्नो छोरालाई अगाडि बढाउनका लागि पृष्ठभूमि तयार गर्दै गरेको दाबी गर्छ।

यता स्वघोषित रूपमा समानान्तर कमिटीमा अध्यक्ष बनेका राई युवा संघमा सह–संयोजक छन् भने उपाध्यक्ष निर्भिक खनालको भने उता युवा संघमा कुनै पनि पद अहिलेसम्म छैनन्।

साथै, राई र खनाल ठेक्का–पट्टाको व्यवसायमा साझेदार भएको र केही कम्पनी पनि कालोसूचीमा रहेका उनीहरूको दाबी गर्दै आएको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ