- असार ०७, २०८०
फाइल तस्बिर
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला तथा कुनै संस्थाको पहिचान खुल्ने पहिरन प्रयोग गर्न नपाइने भएकाे छ।
बिहीबार विमानस्थलकाे अध्यागमन कार्यालयले एक सूचना जारी गर्दै अध्यागमन क्षेत्र संवेदनशील र सुरक्षात्मक हुने भएकाले यस्ता सामग्री प्रयोग गर्न निषेध गरिएको हो।
अध्यागमन क्षेत्र वा काउन्टरमा रहँदा वा अध्यागमन प्रक्रियामा सहभागी हुँदा कुनै पनि प्रकारको खादा, माला, वा यस्तै अन्य सजावटी वस्तुहरूको प्रयोग नगर्न भनिएकाे छ।
कार्यालयका अनुसार यस्ता वस्तुहरूले प्रयोगमार्फत अध्यागमन प्रशासनको कार्यमा हुन सक्ने सम्भावित जोखिम एवं अनावश्यक ढिलाइ गराउन सक्ने भएकाले निषेध गरिएको हाे।
यसैगरी कुनै विशेष समूह, संगठन, वा ट्राभल एजेन्सी/म्यान पावर कम्पनीको परिचय वा आवद्धता झल्काउने किसिमका पहिरन, टोपी, व्याज, वा अन्य कुनै पनि पहिचानजन्य बस्तुहरू अध्यागमन क्षेत्रभित्र प्रयोग गर्न नपाइने भएकाे छ।
यसले कुनै पनि यात्रुलाई विशेष व्यवहार गरिएको भान पर्न सक्ने वा सुरक्षा संवेदनशीलतामा प्रश्न उठ्न सक्ने भएकाले सबैलाई समान व्यवहार सुनिश्चितता गर्ने प्रयोजनार्थ यो नियम लागू गरिएको अध्यागमन कार्यालयले जनाएकाे छ।
टिप्पणीहरू: