- भदौ ०२, २०८१
फाइल तस्बिर
भारत। भारतको पञ्जाब राज्यका करिब एक हजार गाउँ विनाशकारी बाढीमा डुबानमा परेका छन्। बाढीका कारण हजारौँ मानिस राहत शिविरमा शरण लिन बाध्य भएको सरकारी अधिकारीहरूले जनाएका छन्।
उत्तरपश्चिमी यो राज्यमा आएको बाढीले हालसम्म कम्तीमा २९ जनाको ज्यान लिएको छ। गत महिना मात्रै दुई लाख ५० हजारभन्दा बढी मानिस प्रभावित भएका थिए। पञ्जाबका मुख्यमन्त्रीले यसलाई ‘दशकौँमा आएको सबैभन्दा भीषण बाढी’ को रूपमा चित्रण गरेका छन्।
भारतको ‘ब्रेडबास्केट’ भनेर चिनिने यस क्षेत्रमा नौ सय ४० वर्गकिलोमिटर (तीन सय ६० वर्गमाइल) भन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ। यसले ‘विनाशकारी बाली क्षति’ निम्त्याएको मुख्यमन्त्री भगवन्त मानले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लेखेको पत्रमा उल्लेख गरिएको छ।
प्रधानमन्त्री मोदीले सोमबार मुख्यमन्त्रीलाई सङ्घीय सरकारको ‘पूर्ण सहयोग’ रहने आश्वासन दिएका छन्।
अधिकारीहरूले गाईवस्तुको ठूलो सङ्ख्यामा क्षति हुने आशङ्का व्यक्त गरेका छन्। तर यसबारे स्पष्ट विवरण पानी घटेपछि मात्र पत्ता लाग्ने जनाइएको छ। सोमबार ढिलो राज्य अधिकारीहरूले सार्वजनिक गरेको बुलेटिनमा यो कुरा उल्लेख गरिएको हो।
फसेका मानिसहरूको उद्धार तथा खाद्यान्न आपूर्ति गर्न भारतको सेना र विपद् व्यवस्थापन टोलीले एक हजारभन्दा बढी डुङ्गा र ३० वटा हेलिकप्टर परिचालन गर्दै विशाल उद्धार अभियान चलाइरहेका छन्।
‘सबैभन्दा महत्त्वपूर्ण कुरा पानीमा फसेका मानिस र असहाय जनावरको ज्यान बचाउनु हो’, मुख्यमन्त्री मानले विज्ञप्तिमा भनेका छन्।
यस क्षेत्रका नदीहरू पाकिस्तानतर्फ बगेका कारण त्यहाँ पनि बाढीले ठूलो जमिन डुबानमा परेको छ।
यस उपमहाद्वीपमा जुनदेखि सेप्टेम्बरसम्मको मनसुनी समयमा बाढी र भूस्खलन सामान्य भए पनि जलवायु परिवर्तन र अव्यवस्थित विकासका कारण तिनको आवृत्ति, तीव्रता र प्रभाव बढिरहेको विज्ञहरू बताउँछन्।
राष्ट्रिय मौसम विभागका अनुसार यस वर्ष उत्तरपश्चिम भारतमा जुनदेखि सेप्टेम्बरसम्म औसत वर्षातभन्दा एक तिहाइ बढी वर्षा भएको छ।
राजधानी दिल्लीमा निरन्तर वर्षाका कारण यमुना नदीले खतराको तह पार गरेको छ। यसले सहरका धेरै क्षेत्र डुबानमा परेका छन् र घण्टौँसम्म भीषण ट्राफिक जाम भएको छ।
गत महिना जम्मू–कश्मीरमा कीर्तिमानी वर्षासँगै आएको घातक बाढीले पनि दर्जनौँको ज्यान लिएको थियो।
टिप्पणीहरू: