- असार ०७, २०८०
काठमाडौँ । बिहीबार राती पक्राउ परेका चक्रेमिलनसहित ४७ जनासँग अहिले प्रहरीले सोधपुछ सुरु गरेको छ ।
काठमाडौंमा अवाञ्छित तथा गुण्डागर्दी गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतले जानकारी दिए ।
नेपाल प्रहरीले काठमाडौँभित्र विभिन्न ठाउँमा बसेर आपराधिक कार्यमा संलग्न रहेका ४७ जनालाई हिजो राती पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रुपमा चलाएको ‘अप्रेसन’मा गुण्डा नाइके चक्रे मिलनसहित उनीहरुलाई बिहीबार राति पक्राउ गरेको हो । ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दी तथा आपराधिक कार्यमा संलग्न व्यक्तिलाई पक्राउ गरिएको जानकारी एसएसपी बस्नेतले दिए ।
‘रेष्टुरेन्ट, क्लबमा बसेर झैझगडा गर्ने तथा हप्ता असुल्ने कार्यमा संलग्न भएकाले पक्राउ गरिएको हो ।’ बस्नेतले भने ।
प्रहरीले बिहीबार बिहान ३ बजेतिर ठमेलको दोहोरी साँझबाट गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइलाई पक्राउ गरेको थियो । नर्सिङ चोकस्थित नगरकोट दोहोरीमा अर्को समूहसँग झगडा गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू: