मङ्गलबार, ०३ भदौ २०८२

‘आफू अनुकूल पदाधिकारी नियुक्ति गरेर संवैधानिक परिषद्मा बहुमत जुटाउन उपसभामुखलाई हटाउन खाेजियाे’


नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने प्रयोजनका लागि एमाले र नेपाली कांग्रेसले चलाएको हस्ताक्षर अभियानले उनीहरूको निरंकुशता र दुरासयलाई नाङ्गो पारेको टिप्पणी गरेका छन्।

मंगलबार विपक्षी दलहरूकाे बैठकपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले एमाले र कांग्रेसकाे कदमले लोकतन्त्रको धज्जी उडाएको बताएका हुन्।

उनले उपसभामुखको पद अनुकूल आचरण नगरेको भन्ने विषयसँग जोडिएको नभएर संवैधानिक परिषद्मा बहुमत जुटाउनका लागि उपसभामुखलाई हटाउन खाेजिएकाे दाबी गरे।

‘उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने प्रयोजनका लागि सतारुढ पार्टीहरु नेकपा (एमाले ) र नेपाली कांग्रेसले खाली कागजमा हस्ताक्षर अभियान चलाएको भन्ने घटनाले उनीहरूको निरंकुशता र दुरासयलाई नाङ्गो पारेको छ। यसले लोकतन्त्रको धज्जी उडाएको छ। यो कदम उपसभामुखको पद अनुकूल आचरण नगरेको भन्ने विषयसँग जोडिएको नभएर आफू अनुकूल संवैधानिक निकायका पदाधिकारीहरुको नियुक्तिका लागि आधार तयार पार्न संवैधानिक परिषद्मा बहुमत जुटाउनका लागि चालिएको हो भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ’, वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने।

पूर्वगृहमन्त्रीसमेत रहेका श्रेष्ठले थप भने, ‘यो र यस्ता कदमहरुले देशलाई  गम्भीर नकारात्मक दिशामा धकेलिरहेको छ र संकटग्रस्त बनाउँदैछ। दशकौ लामो बलिदानीपूर्ण संघर्षद्धारा प्राप्त लोकतान्त्रिक उपलब्धिको रक्षा गर्न चाहाने सबैले तात्कालिक निहित स्वार्थभन्दा माथि उठेर यस्तो यस प्रकारको गलत कार्यलाई असफल पार्न एकजुट हुनु पर्ने आवश्यकता छ।’

साथै विपक्षी दलहरूको बैठकले सरकारमा रहेका पार्टीहरुले उपसभामुखलाई हटाउन चालेको कदमको घोर भर्त्सना गर्दै यसलाई असफल पार्न सम्बन्धित सबैलाई आह्वान गरेको उनले बताए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ