- असार ०६, २०८०
काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन नेपाली कांग्रेस र नेकपा एमालेले चालेकाे कदमप्रति आपत्ति जनाएको छ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बाेल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख रानामगरलाई हटाउन लागिएकाे भन्दै आपत्ति जनाएका हुन्।
‘अन्तर्राष्ट्रियस्तरमा उहाँले पाउनुभएकाे सम्मानलाई सम्मान गर्दै याे सभामा नेपालकाे प्रतिनिधित्व हाेस् भन्दै हामीले तपाईंरुले ल्याएकाे भनिएकाे लाेकतन्त्रमा उहाँलाई याे सदनमा भित्र्याएकाे हाे। उहाँले जति अन्तर्राष्ट्रिय सम्मान पाउनुभएकाे छ, तपाईंरु जति उफ्रे पनि त्यति माथि पुग्न सक्नुहुन्न भन्ने हाम्राे ठक्याइ हाे,’ उनले भने।
प्रमुख सचेतक परियारले सांसदकाे विवेकलाई हस्ताक्षरमा परिणत गरेर राजनीतिक स्वार्थ पूर्ति गर्ने मुद्दा नबनाउन आग्रह गरे।
उनले भने, ‘विवेकलाई बन्दी नबनाऔँ, सांसद आफैँमा सार्वभाैम हाे। सांसदकाे विवेकलाई बन्दी नबनाऔँ। सांसदकाे विवेकलाई हस्ताक्षरमा परिणत गरेर जुनबेला पायाे त्यहीबेला राजनीतिक स्वार्थ पूर्ति गर्ने मुद्दा नबनाऔँ।’
सांसद परियारले रास्वपा निषेध गर्न खाेजिएकाे भन्दै कार्यपालिकाले व्यवस्थापिकालाई आक्रमण गरेको भन्दै टुलुटुलु हेरेर बस्न नसक्ने बताए।
‘आज राष्ट्रिय स्वतन्त्र पार्टीलाई निषेध गर्न खाेजिँदैछ, नयाँहरूलाई निषेध गर्न सकिँदैन। समाज विज्ञान प्रमाणित गरेकाे कुरा हाे। कुनै पनि नयाँहरूलाई समाज निषेध गर्न सक्दैन। हाे, हामीलाई कमजाेर बनाउन खाेजिएला तर हामीलाई निषेध गर्न याे समाजले सक्दैन, याे नयाँ युगले सक्दैन, उनले भने, बारम्बार कार्यपालिकाले व्यवस्थापिकालाई गरेको आक्रमण हामी कसरी टुलुटुलु हेरेर बस्न सक्छाैँ?’
टिप्पणीहरू: