- असार ०६, २०८०
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टी अध्यक्ष माधव कुमार नेपाल राजनीतिक षड्यन्त्रको जालोमा परेको बताएका छन् ।
आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०६९ सालमा नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राखेको मुद्दा ब्यूँत्याएर जालझेल गरिर्एको बताएका हुन् ।
उपाध्यक्ष खतिवडाले ०६९ मा तामेलीमा राखिएको मुद्दा किन अहिले ब्यूँताइयो भन्ने प्रश्नको उत्तर स्वयं अख्तियारसँग पनि नरहेको दाबी गरे । ०६९ मा तामेलीमा राखेको मुद्दा जगाएर पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाललाई प्रतिवादी बनाउन अख्तियार एक्लैले आँट गरेको भन्नेमा आफूलाई विश्वास नरहेको उनले बताए ।
‘राजनीतिमा षड्यन्त्रको अनेकै जालहरु बुनिरहेको तपाईँहरु देख्न सक्नुहुन्छ । त्यही षड्यन्त्रको महत्वपूर्ण जालोको अंगको रुपमा माधव कुमार नेपाललाई उपयोग गर्नका निम्ति सत्ताले संरक्षण गरेर राजनीतिक प्रतिशोध साध्ने काम भएको छ । अदालतलाई धन्यवाद दिनुपर्छ, हिजोमात्रै ती षड्यन्त्रका बाबजुद माधव नेपालाई धरौटीमा छाडेको छ । अदालतमाथि भरोसा गरौं, विश्वास गरौं,’– उनले भने ।
नेता खतिवडाले माधव नेपालको सादगी, इमानदार, नैतिकवान छविलाई धुल्मुल्याउनका लागि मुद्दा अगाडि बढाइएको दाबी गरे । अध्यक्ष नेपाललाई उनले ‘टावर पर्शनालिटी, राष्ट्रिय व्यक्तित्व, राष्ट्रिय नेता’ को रुपमा चित्रण गरे । उनले अध्यक्ष नेपालको नाममा भ्रष्टाचारको कुनै कलङ्क र कुशासनको कलङ्क नरहेको अवस्थामा प्रतिशोध राखेर पतञ्जली योग पीठको मुद्दा अगाडि बढाइएको बताए । ‘इमादार उसको छविलाई बिटुल्याउको निम्ति केही व्यक्तिहरुले, संस्थालाई प्रयोग गरे भन्ने कुरा घटनाक्रमले पुष्टि गर्छ,’– उनले भने ।
भूमिसम्बन्धी ऐनमा प्रष्ट व्यवस्था गरिएअनुसार मन्त्रिपरिषद्को निर्णयबाट पतञ्जलीलाई हदबन्दी भन्दा बढी जग्गा राख्न दिने नीतिगत निर्णय भएको उनको दाबी छ ।
नेता खतिवडाले अहिले देशको राजनीति नयाँ प्रकारको समस्याबाट गुज्रिरहेको बताए । देशको राजनीति सुशासन र कुशासनको सक्रमणकालबाट गुज्रिरहेको उनको टिप्पणी रहेको छ । परिवर्तनलाई संस्थागत गर्नको निम्ति सुशासन र रोजगारी सरकारको पहिलो केन्द्रविन्दुमा हुनुपर्नेमा त्यसो हुन नसकेको उनले बताए ।
साथै, वर्तमान सरकारको औचित्य नै समाप्त भइसकेको उनको दाबी छ । जनता समाजवादी पार्टी नेपालले समर्थन फिर्ता लिएपछि राष्ट्रिय सभामा सरकार अल्पमतमा परिसकेको उनले बताए । यस्तो अवस्थामा वर्तमान सरकारले अगाडि बढाएको संविधान संशोधनको एजेण्डाको औचित्य नै सकिएको उनको टिप्पणी छ ।
‘जसपा नेपालले समर्थन गरेको सरकार थियो । राष्ट्रिय सभामा समर्थन पाउँछु कि भन्ने जीवित रहेको आशा पनि हिजोदेखि समाप्त भइसकेको छ । यस कारण अब त्यो राजनीतिक औचित्य, संविधान संशोधनको औचित्य अब वैधानिक रुपमा पनि समाप्त भइसकेको छ । अब संविधान संशोधनको एजेण्डा उठाउनका निम्ति आफूसँग बहुमत नभएको सरकारले सरकारको औचित्य पनि गुमायो र संविधान संशोधनको औचित्य पनि समाप्त गर्यो,’– उनले भने ।
नेता खतिवडाले बजेट विनियोजनमा पनि सरकारले देशको ढुकुटी दुरुपयोग गरेको आरोप लगाए । निश्चित जिल्लाहरुमा मात्रै बजेट खन्याइएको उनको आरोप छ । ‘केही नेताहरुले राष्ट्रको ढुकुटीको दुरुपयोग गरेका छन् । संसद्मै सांसदहरुले बजेट पुस्तिका च्यातेका छन्, उपप्रधानमन्त्री, प्रधानमन्त्रीलाई तिमी अर्को पटक हार, पराजीत होऊ, तिमीजस्तो नेताको काम छैन भनेर अनेक पटक गाली गरेको, सरापेको सुनिरहनुभएको छ,’– उनले भने ।
टिप्पणीहरू: