बुधबार, १८ असार २०८२

काठमाडौं उपत्यकाभित्र उद्दारका लागि निःशुल्क हेलिकप्टर परिचालन गरिने


काठमाडाैँ। विपद्मा परेका व्यक्तिहरुको खोज तथा उद्धारका लागि तत्काल हेलिकप्टर प्रयोग गर्नेसम्बन्धी गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघ नेपालबिच मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको छ।

गृहमन्त्री रमेश लेखकको रहोवरमा गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच हवाई उद्दारका लागि सम्झौता भएको हो।

समझदारीमा संघले काठमाडौं उपत्यकाभित्र विपद्को समयमा खोज तथा उद्धारका लागि हेलिकप्टर परिचालन गर्नु परेमा निःशुल्क रुपमा हेलिकप्टर परिचालन गर्ने/गराउने व्यवस्था मिलाउने भएको छ।

त्यसैगरी विपद्को समयमा नागरिकहरुको जिउधनको सुरक्षा गर्न तत्काल खोज तथा उद्धार गर्नुपर्ने अवस्थामा निजि हेलिकप्टर कम्पनीलाई सामाजिक उत्तरदायित्व बहन गराउदै परिचालन गरिनेछ।

वायुसेवा सञ्चालक संघले विपद्को समयमा खोज तथा उद्धार गर्ने, गराउने कार्यका लागि दैनिक रुपमा पालो तोकी निजी हेलिकप्टर सेवा प्रदायकलाई तोक्ने जनाएको छ।

त्यस्तै हेलिकप्टर कम्पनी र सम्पर्क गर्ने व्यक्तिको विवरण नियमित रुपमा अध्यावधिक गरी सोको जानकारी गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई समझदारी बनेको गृह मन्त्रालयले जनाएको छ।

त्यसैगरी दैनिक पालो तोकिएका र तयारी अवस्थामा राखिएका निजी हेलिकप्टर सेवा प्रदायकले गृह मन्त्रालयको लिखित तथा मौखिक अनुरोधमा तत्काल विपद्ग्रस्त क्षेत्रमा हवाई उडान गरी खोज तथा उद्धार गर्नुपर्नेछ।

गृह मन्त्रालयमार्फत उद्धार उडानको लागि आवश्यक समन्वय र सहजीकरणका लागि नागरिक उड्डययन प्राधिकरणलाई समेत जानकारी गराउनेछ।

त्यसैगरी काठमाडौं उपत्यका बाहिर खोज तथा उद्धारका लागि हेलिकप्टर परिचालन गर्नुपरेमा हेलिकप्टर कम्पनीको सामाजिक उत्तरदायित्वलाई समेत मध्य नजर गरी हेलिकप्टर संचालनको न्यूनतम खर्चमा परिचालन गर्ने र हेलिकप्टर प्रयोग बापतको रकम विल तथा विपद्का घटनाको खोज तथा उद्धारमा उडान भएको प्रमाणित कागजात मन्त्रालयबाट भएको आदेश लगायतका कागजातहरु प्राप्त भए पश्चात प्राधिकरणले भुक्तानी दिने प्रवन्ध गरिएको छ।

त्यसका साथै समयमै उद्धार उडान गर्ने\गराउने प्रयोजनार्थ गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल नागरिक उड्डयन प्राधिकरण र निजि वायुसेवा संचालक संघका प्रतिनिधिहरु रहेको एक समन्वय समिति गठन गर्ने मन्त्रालयले जनाएको छ।

एक वर्षका लागि गरिएको समझदारी आपसी समझदारीमा पुनः नविकरण गर्न सकिने समझदारीमा उल्लेख छ। समझदारीपत्रमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर दिनेश प्रसाद भट्ट र वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले हस्ताक्षर गरेका छन्।

दुई पक्षीय समझदारीपछि बोल्दै गृहमन्त्री रमेश लेखकले असल कार्यको थालनी भएको बताए। ‘हामी मनसुनको प्रारम्भिक चरणमा छौँ। मनसुनजन्य विपद्बाट ठुलो जनधनको क्षति भएको अवस्था छ। नागरिकको सुरक्षाका लागि हामी तयारी अवस्थामा रहेका छौँ।’

गृहमन्त्री लेखकले भने, ‘नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले विपद् खोज, उद्दार तथा प्रतिकार्यमा सक्रिय छ।’ मन्त्री लेखकले विपद्मा सहयोग गर्ने समझदारी गरेको वायु सेवा सञ्चालक संघलाई सरकारका तर्फबाट धन्यवाद दिए।

‘विपद्को अत्यन्त जँदा जोखिमको भूगोलमा छौँ। प्रत्येक वर्ष विपद्ले समस्या निम्त्याउछ। जुनसुकै बेला भूकम्प जान सक्छ।’ उनले भने, ‘नागरिकको सुरक्षाका लागि हामी तयारी अवस्थामा रहेका छौँ।’

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ