सोमबार, ०२ भदौ २०८२

अर्थमन्त्रीले भने- रास्वपा, राजावादी र माओवादीकाे भविष्य छैन


काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राजनीतिलाई अस्थिरतातर्फ लैजान खोज्ने तीनथरी शक्तिको भविष्य नेपालमा नभएको बताएका छन् । प्रतिगामी शक्ति,खहरेको रुपमा आएको रास्वपा, सरकार ढाल्ने र बनाउने खेलमा लाग्ने माओवादीको राजनीतिक भविष्य नभएको उनको भनाई छ । 

नेपाल पत्रकार महासंघ पाल्पाले आज तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पौडेलले प्रतिगामीहरुले केही समय पहिले राजनीतिक अस्थिरता मच्चाउन सकिन्छ कि भनेर प्रयास गरेको तर त्यसलाई जनताले बिफल पारेको बताए । ‘प्रतिगामी शक्तिको रुपमा आएका कथित राजावादीको प्रयासलाई जनताले तिरस्कार गरिसके । उनीहरु अहिले छिन्नभिन्न अवस्थामा छन्’ पौडेलले भने ‘राजावादी कित्तामा लागेर ब्यर्थमा जीन्दगीको समय नगुजार्न म आग्रह गर्दछु ।’
 प्रतिगामीहरुले गणतन्त्रवादीसँग जोरी खोज्नु भनेको ‘कुइनोले पहरो ठेले जस्तो’ मात्र भएको उनको भनाई छ । 

उपप्रधानमन्त्री पौडेलले भविष्य नभएको दोस्रो शक्तिको रुपमा रास्वपालाई लक्षित गरे । उनले रास्वपाको नाम नलिई उसलाई खहरेको संज्ञा दिए । ‘यसपाली मनसुन अलि ढिला सुरु भयो । त्यही भएर अहिले खहरे खोलाहरु बढेका छन् । तर मनसुन सकिएपछि ति खहरेमा कमिला कुद्ध्छन्’ पौडेलले भने ‘राजनीतिमा पनि खहरे देखिएका छन् । तिनीहरुको आयु लामो छैन ।’ उपप्रधानमन्त्री पौडेलले विरोधको राजनीति गरेर ,जनतामा भ्रम सृजना गरेर यस्ता खहरेहरुले जनतालाई अलमलमा पार्न खोजेको तर जनताले उनीहरुको नियत थाहा पाएको बताए । ‘म युवाहरुलाई यस्तो खहरे राजनीतिको भेलमा नहेलिन आग्रह गर्दछु’ पौडेले भन्नुभयो ‘भुलभुलैयामा परेर जीन्दगीको महत्वपूर्ण कसैले पनि खेर नफाल्नुहोस । ’

पौडेलले अस्थिरता चाहने तेस्रो शक्तिको रुपमा माओवादीलाई लक्षित गरे । सरकार ढाल्छु भनेर केही समय अघि ठूलो स्वर गर्नेहरु अहिले मुर्झाएको उनको भनाइ छ । ‘देशमा अस्थिरता चाहने अर्को एउटा शक्ति छ । त्यो सधैं सरकार ढाल्छु भन्छ । सरकारलाई नै निशाना बनाउछ ’ पौडेलले भने ‘सरकार ढाल्ने प्रयास सफल नभएपछि अहिले सरकार हाम्रो प्राथमिकता होइन भन्छ । त्यसैले यो शक्तिको भ्रमबाट जनताले मुक्त हुनु पर्दछ ।’

वर्तमान संसदको गणितले एमाले काँग्रेस भन्दा दोस्रो विकल्प नभएको उनले भने । सबैभन्दा सुरक्षित  स्थिर सरकार यीनै दुई दल मिल्दा मात्र हुने भएकोले त्यसतर्फ आफूहरु लागेको उनको भनाइ छ । उनले यो सरकार २०८४ सम्म निरन्तर हुने भएकोले कसैलाई पनि भ्रममा नपर्न आग्रह गरे । 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ