आइतबार, ०१ भदौ २०८२

बाबुरामले भन्थे- तपाईंहरु ठूलो हुनुहुन्छ, मेरो थालको भात झिक्नुस्


काठमाडौं। नेपाल समाजवादी पार्टी (नयाँशक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखामा रहेका आफ्ना पुराना दौँतरीहरूसँग भेटघाट गरेकाे भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको छ।

‘बालसखासँगको मिठो भेटघाट’ शीर्षकको भिडियो हेर्दा वास्तवमै भेटघाट अविस्मरणीय र मिठो भएको अनुभूति हुन्छ। गाउँमा सिमेन्ट, फलाम र जस्ताले बनाइएको आधुनिक प्रतिक्षालयमा केही स्थानीय बुढापाकाहरु भएको ठाउँमा हिँड्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका बाबुराम पुगेपछि माहौल निकै रमाइलो हुन्छ।

त्यहीँ भेटिन्छन्, बाबुरामका पुराना रुम पार्टनर। उनले भन्छन्, ‘म यामप्रसाद र उहाँ एउटा कोठामा बसेकाे। म भात पकाउथेँ र तीनवटै थालमा बराबर भाग लगाउथेँ।’ बाबुराम जिस्केको भावमा भन्छन्, ‘पालैपालाे पकाउँथ्याैँ। भाँडा पनि माझ्थ्यौँ।’ बीचैमा अर्काले थप्छन्, ‘तपाईं उपाध्याय हुनुहुन्थ्यो त्यही भएर।’

भात पकाउनेको कुरा सकिएको हुँदैन। उनी भन्छन्, ‘म तीन वटा थालमा बराबर भात पस्किन्थेँ। उहाँ (बाबुराम) सानो हुनुहुन्थ्यो। उहाँले भन्नुहन्थ्यो- ‘तपाईंहरु अलि ठूलो हुनुहुन्छ, अलि धेरै खानुपर्छ। मेरोबाट भात झिक्नुस्। अनि म उहाँकाे थालबाट भात झिक्थेँ र खान्थेँ।’

बाबुरामले आफू जुन स्कुलमा पढे, त्यही स्कुलमा पढाए पनि। त्यहीँ भेटिएकामध्ये दुई जनाले भन्छन्, ‘मलाई उहाँले पढाउनुभएको हो।’ अर्का एकजनाले सुझाव दिन्छन्- ‘यस्तो विद्वान मान्छे भएर पनि अलिकति ओझेल पर्नुभयो।’

रवि लामिछानेलाई भेटेको सन्दर्भ जोड्दै बालसखाले भन्छन्, ‘रविलाई भेटन जानुभएको रहेछ। फोटो देखेको थिएँ।' प्रष्टीकरण दिँदै बाबुराम भन्छन्, ‘राजनीतिक कल्चर भएको मान्छेले सबै पार्टीकालाई भेट्नुपर्छ।’ कतिपयले त्यही पार्टीमा जान लाग्यो भनेर हल्ला गरेको गुनासो पनि गरे उनले।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ