शनिबार, २१ भदौ २०८२

अनमाेल केसी भन्छन् - भुवन केसीकाे उर्जा मेरा लागि प्रेरणा


काठमाडौँ । तिहारलाई लक्षित गर्दै आगामी असोज ३१ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘जेरी अन टप’को श्रव्यदृश्य (टिजर) सार्वजनिक गरिएको छ । 

काठमाडाैस्थित एक चलचित्र भवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रका अभिनेता अनमोल केसीले आफूले देखेको सपनालाई चलचित्रमार्फत पर्दामा ल्याउन सफल भएको बताए ।
    
“मैले पटकथा पढ्दादेखि नै देखेको एउटा सपनालाई पर्दामा ल्याएको छु । यसका लागि छायाङ्कनसहित तीन वर्ष मेहनत गरेका छौँ । यो नेपालको सौन्दर्य देखिने र पर्यटन प्रवर्द्धन गर्ने चलचित्र बनेको छ ।” उनले धेरै समयपछि आफ्नै पिता अभिनेता भुवन केसीसँग चलचित्रमा काम गरेका छन् । 

 “मैले बुवा (भुवन केसी) सँग पहिला पनि छिटपुट काम गरेको थिएँ, यसपटक भने बाबु र छोराकै भूमिकामा चलचित्रमा काम गरेका छौँ । बुवाको काम गर्ने शैली, ऊर्जा र लगनशीलताले सधैँ मलाई प्रेरणा दिन्छ”, अभिनेता केसीले भने । 
    
 चलचित्रकी अभिनेत्री आँचल शर्माले आफूले श्रेया नामक पात्रको भूमिका निर्वाह गरेको जानकारी दिइन् । “श्रेया निडर र एक स्वाभिमानी युवती हुन् । उनले गर्ने निर्णयले उनको क्षमतालाई प्रष्ट्याउँछ । मैले यो पात्रलाई पर्दामा देखाउन पाउँदा निकै उत्साहित छु । हिमालका विषयमा बनेको चलचित्रले युवापुस्तालाई आन्तरिक पर्यटक बन्न प्रेरित गर्ने विश्वास छ ।” उनले भनिन् ।
    
अनन्या फिल्मसले निर्माण गरेको चलचित्र ‘जेरी अन टप’ मा अभिनेता केसी र अभिनेत्री शर्मासँगै जसिता गुरुङ, केदार घिमिरे, भुवन केसीलगायतका कलाकारले अभिनय गरेका छन् । 
    
 सरोज न्यौपाने निर्माता रहेकाे उक्त चलचित्रमा हेमराज विसीको लेखन तथा सुयोग गुरुङको निर्देशन छ । उक्त चलचित्रको कथा विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण र यात्राका क्रममा हुने प्रेमकथामा केन्द्रित रहेको जनाइएको छ । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ